
काठमाडौं, १३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अब आउने बजेटमा सांसदहरुलाई दश करोड रकम छुट्याउनुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले बजेटको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत नै सांसदहरुलाई दश करोड बजेट दिनुपर्ने माग गरेका हुन् । सांसदहरुले पैसा मागेको भनेर बाहिर बद्नाम गराउने काम भएको भन्दै उनले त्यसमा गुनासो पोखे ।
‘यो कार्यक्रम सांसदहरुले ठग्नको लागि बनाइएको कार्यक्रम होइन, जनताले माग गरेका योजना दिनुपर्छ भन्ने हाम्रो कुरा हो । दश करोड आउने भयो भने स्वागतयोग्य कुरा हो’, उनले भने, ‘निर्वाचित र समानुपातिक दुवै सांसद दुवैलाई बराबरी दिनुपर्छ । म सांसदलाई दश करोड दिनुपर्छ भन्ने पक्षमा छु ।’
यद्यपी, सांसदले बेइमानी गर्छ भने सम्बन्धित निकायले कडा निगरानी गर्नुपर्ने उनको धारणा छ ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभाका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आफ्नो पार्टी सांसदहरुलाई दश करोड दिनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, ‘सोझै सांसदहरुलाई पैसा बाँड्न आवश्यक छैन् । बरु, सांसदहरुलाई योजना दिनुपर्छ ।’ कांग्रेसले सांसदहरुलाई दश करोड दिनुपर्छ भनेर माग नगरेको उनको दाबी छ ।
उनले गत वर्ष छुट्याइएको बजेटमा पुँजीगत खर्च आधाभन्दा कम भएको सुनाए । उनले भने, ‘त्यसैले बजेट छर्ने काम गर्नुहुँदैन । त्यतिवेला पनि हामीले यति ठूलो बजेट कार्यान्वयन हुँदैन कि भनेर प्रश्न उठाएका थियौं । अहिलेसम्म ५० प्रतिशत पुँजीगत खर्च हुन सकेको छैन ।’
उनले खर्च गर्नसक्ने क्षमता हेरेर मात्रै बजेट निर्माण गर्नुपर्ने जिकिर गरे । उनले भने, ‘पुँजीगत र प्रशासनिक क्षमता हेरेर मात्रै बजेट निर्माण गर्नुपर्छ । बरु, आवश्यकत्तालाई प्राथमिकता दिनुपर्छ । अब कुरा ठूलो गर्ने र काम नगर्ने कुरा गर्नुहुँदैन् । जनतालाई क्षणिक रस्वदान गराउने काम गर्नुहुँदैन् । समयमै सम्पन्न गर्नसक्ने कार्यक्रमहरु मात्रै ल्याउनुपर्छ । पूरा गर्नसक्ने सपनामात्रै दैख्नुपर्छ ।’
यस्तै, राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले आफूहरुले दश करोड पैसा नमागेको स्पष्ट पारिन् । उनले भनिन्, ‘पैसाको साटो सांसदहरुलाई योजना दिनुपर्छ । हामीले योजना पाउनुपर्छ । हामी सांसदलाई दश करोड पैसा दिनुपर्छ भन्ने पक्षमा छैनौं ।’
निर्वाचित र समानुपातिक सांसद दुवैलाई हरेक क्षेत्रमा बराबर योजना दिनुपर्ने उनको माग छ । उनले नेपालमा बजेट हरेक वर्ष फ्रिज हुने गरेको भन्दै त्यसतर्फपनि सोच्नुपर्ने सुझाइन् । उनले प्रश्न गरिन्, ‘नेपालमा सधैं किन बजेट फ्रिज हुन्छ ? जति काम गर्ने हो त्यतिमात्रै बजेट ल्याउनुपर्छ । बजेट बनाउँदा प्राथमिकता तोक्नुपर्छ ।’
उनले बजेट ल्याउँदा प्रसादजस्तो छर्ने काम गर्न नहुनेपनि बताइन् । उनले भनिन्, ‘हामीले खुद्रा कामभन्दापनि होलसेलमा ठूलो योजनाहरुको काम गर्नुपर्छ । राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिनुपर्छ । जस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा छ, यसमा विशेष ध्यान दिनुपर्छ । अहिले एउटामात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा यात्रुहरुलाई ठूलो मार परेको छ ।’
चौधरीले युवा तथा महिलाहरुलाई रोजगारी सिर्जना गर्ने कुरामा ध्यान दिनुपर्ने सुझाव सरकारलाई दिइन् ।












प्रतिक्रिया