
काठमाडौं, १३ जेठ । आइतबार दिउँसो भएका विस्फोटहरू र सोमबारसम्म भएका कतिपय शंकास्पद विस्फोटक पदार्थ नियन्त्रण र निस्क्रिय बनाउनका लागि कति सुरक्षाकर्मी परिचालन गरिएको भन्नेबारेमा गृह मन्त्रालयले कुनै जानकारी दिएको छैन ।
राजधानी काठमाडौंमा आइतबार साँझ चार जनाको ज्यान जाने गरी विस्फोट भएपछि कुनै पनि शङ्कास्पद वस्तु वा गतिविधि भए प्रहरीलाई सूचना दिइहाल्न गृह मन्त्रालयले अनुरोधचाहिँ गरेको छ ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीलाई उदृत गर्दै बीबीसी नेपाली सेवाले कपन–सुकेधारा र घट्टेकुलो–अनामनगर क्षेत्रमा आइतबार साँझका विस्फोटनपछि दुई जनाको घटनास्थलमा र अन्य दुई जनाको अस्पताल लैजाने क्रममा ज्यान गएको जनाएको छ । यस्तै, घाइते भएका ७ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
नेपाल प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा १२ जना पक्राउ परिसकेका छन् । अन्य सन्दिग्ध व्यक्तिहरूको खोजी जारी रहेको उसको भनाइ छ ।
नेपाल प्रहरीको भनाइमा ‘आम नागरिकलाई निर्धक्क भएर हिँडडुल गर्न वा काममा जान मिल्ने गरी सुरक्षाकर्मी परिचालन’ गरिएको छ ।
सोमबार अमनचयनमा खलल पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी देशैभरि सुरक्षा सतर्कता बढाइएको बताउँदै नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले भने, ‘हामीले सुरक्षा व्यवस्था सशक्त बनाएका छौँ ।’
गृह मन्त्रालयले कति सुरक्षाकर्मी यस काममा खटाएको भन्नेबारे कुनै जानकारी दिएको छैन । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विस्फोट गराउने समूहको पहिचान भइसकेको भएपनि त्यो समूहको नाम लिन चाहेनन् ।
उनले भने, ‘सरकारले घोषणा गरेको विध्वंसकारी समूह विस्फोटनका लागि जिम्मेवार भएको प्रमाणहरू प्रहरीले घटनास्थलबाट फेला पारेको छ ।’
उनले कुनै पनि स्थानमा शङ्कास्पद गतिविधि भएको वा शङ्कास्पद वस्तु फेला परेमा सर्वसाधारणलाई तत्कालै प्रहरीलाई सूचना दिन आग्रह गरिएको बताए ।
उनका अनुसार गृह मन्त्रालयमा बसेको बैठकले पनि देशैभरि सुरक्षा व्यवस्था कडा पार्ने र शङ्कास्पद क्रियाकलापमा लाग्ने व्यक्तिलाई नियन्त्रणमा लिने लगायतका निर्णय गरेको बताए ।
सरकारले प्रतिबन्ध गरेको नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्दको समूहले नै यी घटना घटाएको सर्वत्र बताइएको छ । यद्यपि, उसले आधिकारिक रूपमा यसको जिम्मेवारी लिएको छैन । घटनाहरूमा विप्लवका कार्यकर्ताकै मृत्यु भएका कारण पनि संदिग्धहरू सोही पार्टीमा आवद्ध रहेको अनुमान गरिएको छ ।
यता, बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा अध्यक्ष प्रचण्डलेचाहिँ विप्लव माओवादीतिर संकेत गरेका थिए । उनले एकाध ठाउँमा विस्फोट गराएर राजनीतिक लक्ष्य प्राप्ति नहुने बताएका छन् ।















प्रतिक्रिया