
-मिना बुढाथोकी
सल्यान, १२ जेठ । सल्यानका दश वटा स्थानीय तहहरु मध्ये ५ वटा स्थानीय तहहरुमा सुशासनमा नागरिक सहभागिता परियोजना सञ्चालन भएको छ ।
सुशासनको लागि नागरिक र सरकारका बिचमा सहभागितामुलक सम्बन्ध स्थापना गर्ने उद्देश्यले दलित विकास समाज सल्यानद्वारा परियोजना सञ्चालन भएको हो ।
परियोजना सम्बन्धी आज जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टले हरेक निकायले आफूले गरेका क्रियाकलापहरुको सार्वजनिक सुनुवाई, लेखा परीक्षण गर्दै सुशासन कायम गर्नका लागि सबै क्षेत्रहरु जिम्मेवार बन्नुपर्ने बताए ।
यस्तै, जिल्ला समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकीले देश संघीयतामा गएको अवस्थामा नयाँ नीति नियम भएकाले हरेक निकायमा सुशासन कायम गर्न कसको जिम्मेवारी के भन्ने बिषयमा बहस गर्नुपर्ने बताए ।
उनले जुनसकै स्थानमा पनि सुशासनको खाँचो रहेको बताउँदै जनप्रतिनिधिलाई सुशासनको पाठ सिकाउन आवश्यक रहेको बताए । सन् २०२२ सम्म सञ्चालन हुने यस परियोजनाले जिल्लामा सुशासनको क्षेत्रमा काम गर्ने भएको छ ।
यूरोपियन यूनियनको आर्थिक सहयोगमा सञ्चालित परियोजना सल्यानको सिद्धकुमाख, छत्रेश्वरी, त्रिबेणी, कपुरकोट र कालीमाटी गाउँपालिकामा सञ्चालन भएको हो ।
शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले यस परियोजना सुशासन कायम गर्नको लागि असाध्यै राम्रो परियोजना भएकाले जिल्लाका सबै स्थानीय तहहरुमा लागू गर्नुपर्ने बताइन् ।












प्रतिक्रिया