बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

वाईडबडी भ्रष्टाचारबारे वसन्तपुरमा सार्वजनिक सुनुवाई हुँदै

दैनिक नेपाल २०७६ जेठ ९ गते १६:०८

काठमाडौं, ९ जेठ । नेपालका लागि नेपालीले नेपाल वायुसेवा निगमको हाई फ्लाई–एक्स आईरल्याण्ड लिमिटेडबाट दुई वटा एयरवस ए ३३०–२०० खरिद गर्ने सम्बन्धमा भ्रष्टाचार गरेको विषयमा यही जेठ ११ गते दिउँसो १२ बजे काठमाडौंको वसन्तपुर डवलीमा सार्वजनिक सुनुवाई गर्ने भएको छ ।

वाईडबडी भ्रष्टाचार छानबिनका लागि नागरिक आयोगले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । अभियानका अभियन्ता डा. सुरेन्द्र भण्डारीले सार्वजनिक सुनुवाई कार्यक्रममा आम–नागरिक, विषयका विज्ञ र सम्पूर्ण पत्रकारहरुलाई सहभागी भईदिन आग्रह गरे ।

अभियानद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उक्त वाईडबडी भ्रष्टाचार विषयमा जानकारी राख्ने आम नागरिकहरुले आफूलाई जानकारी भएको विषय र धारणा राखिदिन हुन अनुरोध गरेका छौं ।’

त्यस्तै, अभियानले विषयविज्ञले भ्रष्टाचारको विवरणसहित सार्वजनिक गरिदिन र सर्वसाधरणलाई सूचित गरिदिनुको साथै आम–पत्रकारले पनि भ्रष्टाचारको सम्बन्धमा लेखिएका दस्तावेज, लेखहरुलाई समेत लिई सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भई आ–आफ्नो धारणा राखिदिनको लागि आव्हान गरेको छ ।

कार्यक्रममा वाईडबडी भ्रष्टाचार छानबिनका लागि नागरिक आयोगका संयोजक सुकदेव भट्टराईले वाईडबडी भ्रष्टाचारबारे संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नहुने शंका व्यक्त गरे । उनले भने, ‘प्रधानमन्त्रीलाई यो काण्डमा मन्त्री संलग्न छैनन् भन्ने अधिकार छैन ।’

त्यस्तै, कार्यक्रममा आयोगका सदस्य डा. ठाकुरमोहन श्रेष्ठले वाईडबडी भ्रष्टाचार काण्डमा आफूहरुले सत्य, तथ्य बाहिर ल्याएरै छोड्ने प्रतिबद्धता जनाए । उनले भने, ‘हामीले धेरै अनुशन्धान गरिसकेका छौं । सबैखाले दस्तावेजहरुको अध्ययन गरेका छौं । विशेज्ञहरुको पनि राय लिएका छौं । चाँडै नै प्रतिवेदन सार्वजनिक गर्नेछौं ।’

गहन अध्ययन र विश्लेषणका आधारमा प्रतिवेदन बाहिर ल्याउन लागेको उनको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित