
इन्डोनेशिया, ८ जेठ । इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुनः निर्वाचित भएपछि भएको हिंसात्मक प्रदर्शनमा कयौँ प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।
राजधानी जाकार्तामा मंगलबार विरोध प्रदर्शन गरिएको थियो । त्यही बेला प्रदर्शनकारीहरूले गाडीमा आगजनी गर्दै प्रहरीलाई लक्षित गरी ससाना विस्फोटक पदार्थ फ्याँकेका त्यहाँकासमाचार संस्थाले जनाएका छन् ।
त्यसपछि प्रहरीले भिडलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । निर्वाचन परिणाम आउँदा विडोडोले आफ्ना चिरकालीन प्रतिस्पर्धी प्राबोवो सुबिआन्तोलाई पराजित गरेका थिए ।
जाकार्ताका गभर्नरलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार पछिल्लो हिंसामा परी छ जनाको ज्यान गएको छ भने २०० जना घाइते भएका छन् ।
इन्डोनेशियाको निर्वाचन आयोगका मङ्गलवार विडोडोले ५५.५ प्रतिशत मत हासिल गर्दै राष्ट्रपति निर्वाचित भएको पुष्टि गरेको हो । मत परिणामअनुसार प्राबोवो राष्ट्रपति विडोडोसँग पराजित हुन पुगे । अप्रिल १७ तारिखमा भएको मतदानमा १९ करोड २० लाख मतदाता मतदान गर्न योग्य थिए ।
प्रहरी प्रवक्ता देदी प्रासेत्योले रोएटर्स समाचारसंस्थालाई बताएअनुसार “हुलदङ्गामा संलग्न हुने २० जनाभन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन् । उनले प्रहरीले गोली नबोकेको बताए । हिंसा चर्किने भय बढेपछि जाकार्तामा ३० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित भएका छन् ।
मङ्गलबार विपक्षी नेता प्राबोवोले निर्वाचन परिणामलाई अस्वीकार गर्दै आफूले न्यायालयको ढोका ढक्ढक्याउने बताए । तर, उनले आफ्ना समर्थकहरूलाई संयम अपनाउन अनुरोध गरेका थिए ।
अन्तिम परिणाम आउनुअघि उनले व्यापक धाँधली भएको आरोप लगाउँदै निर्वाचन परिणामविरुद्ध सडक तताउन सक्ने चेतावनी दिएका थिए ।
सन् २०१४ मा विडोडो निर्वाचित भएपछि प्राबोवोले इन्डोनेशियाको संवैधानिक अदालतमा निर्वाचन परिणामविरुद्ध चुनौती दिएका थिए । तर, प्राबोवोले मुद्दा हारेका थिए ।
धार्मिक मुद्दाले महत्वपूर्ण भूमिका खेलेको यो निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको स्वतन्त्र पर्यवेक्षकहरूको भनाइ छ ।
विडोडोले ५५.५ प्रतिशत मत हासिल गरेको र प्राबोवोले ४४.५ मत आफ्नो पोल्टामा पारेको निर्वाचन आयोगले जनाएको छ । –बीबीसी















प्रतिक्रिया