
ललितपुर, ७ जेठ । भूटानको फुन्चुलिङ नगरपालिकाका मेयर उत्तरकुमार राई सहितको प्रतिनिधि मण्डलले ललितपुर महानगरपालिकाको अवलोकन भ्रमण गरेको छ ।
मंगलबार मेयर उत्तरकुमार राईसहितको टोलीलाई कार्यवाहक मेयर गीता सत्यालले ललितपुर महानगरपालिकामा स्वागत गरिन् । ललितपुर महानगरपालिकाको अवलोकन भ्रमणमा आएका फुन्चुलिङ नगरपालिकाका मेयर उत्तरकुमार राई सहितको प्रतिनिधि मण्डललाई विपद् व्यवस्थापनका सम्बन्धमा ललितपुर महानगगरपालिकाले हालसम्म गरेका कामहरु, अपनाएका नीति तथा योजनाहरुको वारेमा समेत जानकारी गराइएको थियो ।
फुन्चुलिङ नगरपालिकाका मेयर राईले ललितपुर महानगरपालिकामा आएर यो महानगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा गरेका कामहरुको बारेमा अवगत हुन पाउँदा खुसी लागेको बताए ।
ललितपुर महानगरपालिकाकी कार्यवाहक मेयर गीता सत्यालले यो अध्ययन तथा अवलोकन भ्रमणले दुई देशबीचको सामिप्तया बढेको बताइन् । उनले भनिन्, ‘तपाईहरुसँग भेटघाट गरेर, अनुभवहरुको आदानप्रदान गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ ।’
अनुभवहरुको आदानप्रदानले जनताको सेवामा थप बल पुग्ने बताउँदै कार्यवाहक मेयर सत्यालले भनिन्, ‘यो अवलोकन भ्रमणले हाम्रो आपसी सामिप्यतालाई थप मद्दत पुर्याउन बल मिलेको छ ।’ कार्यवाहक मेयर सत्यालले ललितपुर महानगरापलिकाले विपद व्यवस्थापनका लागि हाल ५० लाखको कोष खडा गरेको र प्रत्येक वडाहरुमा समेत १/१ लाखको व्यवस्था गरेको जानकारी दिइन् ।
सत्यालले यो कोषमा प्रत्येक वर्ष सोही बरावर रकम थप गर्दै कोष अभिबृद्धि गर्ने महानगरपालिकाको नीति रहेको पनि अवलोकन भ्रमणमा आएका फुन्चुलिङ नगरपालिकाका मेयर राईसहितको टोलीलाई जानकारी गराइन् ।
२०७२ सालको भूकम्पले क्षतविक्षत भएका ८० प्रतिशत सम्पदाहरको पुनर्निमाण सम्पन्न भएको र बाँकी २० प्रतिशत काम अबको तीन वर्षभित्रै सम्पन्न हुने पनि कार्यवाहक मेयर सत्यालले बताइन् ।
अवलोकन भ्रमणमा आएका फुन्चुलिङ नगरपालिकाका मेयर राईसहितको टोलीलाई स्वागत गर्दै ललितपुर महानगरपालिकाका कार्यकारी प्रमुख प्रेमप्रसाद भट्टराईले उस्तैउस्तै भूगोल भएका भूटान र नेपालबीचको अध्ययन र अवलोकन र अनुभवहरुको आदानप्रदानले विपद व्यवस्थापनका सन्दर्भमा थप सहयोग पुग्ने बताए ।












प्रतिक्रिया