मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

कुकुरको सहयोगमा बाँकेमा लागूऔषधसहित सात जना पक्राउ

दैनिक नेपाल २०७६ जेठ ७ गते १०:५६

काठमाडाैँ, ७ जेठ । बाँकेमा प्रतिबन्धित लागूऔषधसहित सात पक्राउ परेका छन् ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो प्रदेश ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो ।

प्रदेश नं ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान गरेको थियो ।

लागूऔषध विज्ञ गौरी नाम गरेको पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको प्रहरी निरीक्षक थापाले बताए । कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिइएको छ ।

सीमावर्ती भारतीय बजार रुपैडिहाबाट आउँदै गरेकी घोराही उपमहानगरपालिका–३ की लक्ष्मी खड्का र नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरिएको छ । कुकुरको सहायतामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले बताए ।

यस्तै, नेपालगञ्ज–१८ भुजइगाउँका किशोरकुमार धोवीलाई चार ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल स्पास्मो र एक बोत्तल अल्टोरेक्ससहित जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको छ ।

प्रहरीले कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई ३९ ट्याब्लेट नाइट्रो भ्याटसहित पक्राउ गरेको छ । प्लाष्टिक झोलामा रहेको चनाभित्र लुकाएर रुपैडिहाबाट ल्याउने क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक थापाका अनुसार, रुपैडिहाबाट आउँदै गरेका थप दुई बालकका साथबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ ।

प्रतिक्रिया
सम्बन्धित