३१ आश्विन २०८३, शनिबार

चीनमा उत्तर कोरियाली महिला र बालिकाहरू यौन व्यवसायमा सामेल

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ जेठ । चीनमा हजारौं उत्तर कोरियाली महिला तथा बालिकालाई यौन व्यवसायमा सामेल गरिएको प्रतिवेदन बाहिर आएको छ । लण्डनस्थित मानवअधिकारवादी समूहले प्रकाशित गरेको एक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

विवाह गरी लगेर पाकिस्तानी महिलालाई जबरजस्ती यौन व्यवसायमा लगाउने गरेको समाचार बाहिर आएको केही समयपछि नै उत्तर कोरियाली महिलालाई पनि यौनदासी बनाइएको विषय सार्वजनिक भएको छ ।

लन्डनस्थित कोरिया फ्युचर इनिसियटिभ नामक समूहले उत्तर कोरियालीहरूलाई अपहरण गरेर यौनकर्मीका रूपमा बेच्ने वा चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पार्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आफ्नो प्रतिवेदन पीडितहरूबाट संकलन गरिएका विवरणमा आधारित रहेको सो समूहले सो बेचबिखनको कारोबार आपराधिक संगठनहरूका लागि वार्षिक दश करोड डलर बराबरको रहेको बताएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘अधिकांश मामिलामा ती महिला फस्ने गर्थे किनकि भेट्टाउनासाथ चीनले उत्तर कोरियालीलाई स्वदेश फर्काइदिने गर्छ । जहाँ उनीहरू यातना खेप्न बाध्य हुन्छन् ।’

प्रतिवेदनका लेखक युन हि–सुन भन्छन्, ‘पीडितहरूलाई ३० युआन वा करिब सवा चार डलरमा यौन व्यवसायमा लगाइन्छ भने जम्मा एक हजार युआनमा पत्नी बनाएर बेचिन्छ । उनीहरूलाई विश्वव्यापी अनलाइन दर्शकका निम्ति साइबर यौन सञ्चालकहरू कहाँ पुर्‍याइन्छ ।’

यसरी यौन व्यवसायमा सामेल गरिएका महिला तथा बालिकाहरू सामान्यतः १२ देखि २९ वर्ष बीचको उमेरका हुने गर्छन् भने कतिपय कम उमेरका पनि हुन्छन् ।
उनीहरुलाई फकाएर वा बाध्य पारेर बेच्ने गरिएको पाइएको छ ।

प्रतिवेदनअनुसार आफ्नो देश छाडेको वर्षदिनभित्र उनीहरुलाई कुनै न कुनै किसिमको यौन दासीको रूपमा काम गर्न बाध्य पारिन्छ । यीमध्ये कतिपय एक पटकभन्दा बढी बेचिन्छन् ।

बिबाहको रुपमा उत्तर कोरियाली महिलाहरु ग्रामीण क्षेत्रमा १ हजार देखि ५० हजार युआनसम्ममा बेचिने गरेको र त्यहाँ उनीहरुका पतिहरुले बलात्कार तथा यौन हिंसा गर्ने गरेको उल्लेख गरिएको छ ।

धेरै आप्रवासी कामदारको संख्या भएको चीनको उत्तर–पूर्वी क्षेत्रमा रहेका वेश्यावृत्ति गराइने ठाउँहरूमा अधिकांशलाई दासको रुपमा राख्ने गरिन्छ ।

साइबर यौन उद्योगका लागि ती महिला तथा ९ वर्ष उमेर सम्मका बालिकालाई वेब क्यामेराको सामुन्ने यौन कार्य गर्न बाध्य पारिन्थ्यो । ती दृश्यका ग्राहक दक्षिण कोरियाली हुने गरेको ठानिन्छ ।

सो समूहले चीनमा रहेका पीडित तथा दक्षिण कोरियामा पुगेका पीडितहरूबाट यी जानकारी संकलन गरेको दाबी गरेको छ ।