बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया

दैनिक नेपाल २०७६ जेठ ६ गते १६:४२

काठमाडाैँ, ६ जेठ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काव्य स्कुल नयाँबानेश्वरमा अध्यनरत विद्यार्थीहरू तथा अभिभावकहरूसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सोमबार गरिएको छ ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले लागुऔषध, साइबर क्राइम, सामाजिक संजाल प्रयोग सम्बन्धी चेतनामूलक प्रशिक्षण दिदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी गराए ।

उनले सामाजिक संजालको दुरुपयोगबाट अपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैव सजग हुन समेत आग्रह गरे ।

प्रहरीले गरेका धेरै कार्यहरू बाहिर नआउने तर एउटा घटना बाहिर आउदा समग्र नेपाल प्रहरीको सुरक्षा व्यबस्थामा प्रश्न उठाउने गरिएको स्मरण गर्दै क्षेत्रीले भने, “एउटा ठाउँमा चोरी भएमा चोरी बढ्यो भन्ने तर, चोरी नियन्त्रणको लागि दिनरात प्रहरीले गरेका कार्यहरूको कहिले चर्चा हुने गरेको छैन ।”

विद्यार्थीहरूको जिज्ञासाको जवाफ दिदै क्षेत्रीले प्रविधिको प्रयोग बढ्दै संसार साघुरिएको अवस्थामा प्रविधिको गलत प्रयोगले समाजमा अपराध बढ्दै गएको र सामाजिक संजाल प्रयोग गर्दा आफ्ना अभिभावक र बालबालिकाबीच पासवर्ड आदान प्रदान गरी बालबालिकाले के गर्दैछन् भनी निगरानी गर्ने  गरिएमा ठूलो घटनाबाट बच्च र बचाउन सकिने बताए ।

प्रतिक्रिया
सम्बन्धित