
लमजुङ, ६ जेठ । जंगलको विषाक्त च्याउ खाँदा लमजुङमा तीन जनाको मृत्यु भएको छ ।
च्याउ खाँदा गम्भीर बिरामी परेका क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १० वर्षीय साजन क्षेत्रीको मृत्यु भएको हो ।
सुलबहादुरकी श्रीमती सरिताको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । बैशाख २७ गते शुक्रबार जंगली च्याउ सेवनपछि बिरामी भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो ।
अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंस्थित नेशनल अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि फर्काइएका सुलबहादुरलाई बिहीबारदेखि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा राखिएको थियो ।
उपचारको क्रममा सुलबहादुरको छोरा मन्तोषको नेशनल अस्पतालमा गत बिहीबार नै मृत्यु भएको थियो । उपचार सम्भव नभएपछि काठमाडौंबाट घर फर्काइएका साजनको गत सोमबार गाउँमै मृत्यु भएको क्व्हालासोंथर गाउँपालिका ९ गिलुङका वडाध्यक्ष नन्दजङ गुरुङले बताए ।












प्रतिक्रिया