
-बिजय चालिसे
नवरपुर, ३ जेठ । संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रावधानप्रति देशभरका पत्रकारहरु आन्दोलनमा छन् ।
यसैक्रममा नवलपुरका पत्रकारहरु पनि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । मन्त्रिपरिषद्बाट पारित भई गत वैशाख २६ गते संसदमा विधेयक दर्ता भएको बिरोधमा शुक्रबार नेपाल पत्रकार माहासङ्घ नवलपुरको आयोजनामा जिल्लामा क्रियाशिल पत्रकारहरुले सञ्चार सामाग्रीसहित बिरोध प्रदर्शन गरेका छन् ।
प्रेस स्वतन्त्रतालाई संकुचित बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा नवलपुरका पत्रकारहरुले पनि साथ दिएका हुन् ।
विधेयकको प्रावधानप्रति विरोध जनाउँदै नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले आन्दोलनका कार्यक्रम घोषणा गरे अनुसार नवलपुर जिल्ला शाखाले पनि आन्दोलनलाई निरन्तरता दिएको हो । आन्दोलन अन्तर्गत बुधबार हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका जिल्लाका पत्रकारहरुले आज सदरमुकाम कावासोतिको फलफूल चोकबाट ईन्द्रचोकसम्म सञ्चार सामाग्रीसहित र्यालीको आयोजना गरेका थिए ।
र्यालीपछि आयोजित कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देलले प्रेस स्वतन्त्रता विरोधी विधेयकको विरोधमा आन्दोलन गर्नु परेको बताए । पत्रकारहरुले निर्भयका साथ काम गर्न पाउनु पर्ने उनले माग गरे ।
‘समाचार लेखेकै विषयमा पत्रकारले लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने कानुन बनाउन खोजिनु दुखद् हो,’ उपाध्यक्ष सिग्देलले भने, ‘समाचार लेखेकै कारण पत्रकारले जेल जानुपर्ने अवस्थाको सिर्जना गरिएको छ ।’
उनले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका केही प्रावधानले संविधानले प्रदत्त गरेका सूचनाको हकलाई समेत संकुचन गर्ने बताए ।
बिरोध कार्यक्रममा पत्रकार महासङ्घ गण्डकी प्रदेश सदस्य राजेश सोनाम, प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली, बाताबरण पत्रकार मंच नवलपुरका अध्यक्ष शालिकराम कोइराला, तत्कालिन प्रेस सेन्टरका अध्यक्ष अर्जुन अबिरललगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया