शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

काठमाडौं मल घोटाला काण्ड : दोषीलाई कारवाही नगरेको गुनासो

दैनिक नेपाल २०७६ जेठ २ गते १४:५८


काठमाडौं, २ जेठ । द काठमाडौं मल व्यापार संघले मलमा करोडौँको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेको गुनासो पोखेको छ ।

संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेको हो । संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखिनै आवाज उठाएको तर, सम्बन्धित सरोकारवाला निकायहरुले अहिलेसम्म यसबारेमा कुनै कारबाही नगरेकोमा आक्रोश पोखिन ।

महराले आफूहरुले मलमा भएको ज्यादती र घोटालाबारे बोल्दा उल्टै घोटालामा संलग्न व्यक्तिहरुले गुण्डा लगाएर भौतिक आक्रमणसमेत गरेको सुनाइन् । उनले भनिन्, ‘ममाथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण नै भयो । तर, अहिलेसम्म यसबारेमा सरकारले केही कदम चालेन । म कहाँ–कहाँ जान्छु ? भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ, उनीहरु मेरो पिछा गरेर हिँडिरहेका छन् । अहिलेपनि मेरो ज्यानमाथि असुरक्षा छ ।’

त्यस्तै, उनले आफूसँग सहकार्य गरेर हिँडिरहेका पीडित व्यापारी साथीहरुलाई पनि गुण्डाहरुले दुःख दिने काम गरिरहेको बताइन् ।

उनले अघि थपिन्,‘अब जतिसक्दो चाँडो सञ्चय कोषले नयाँ वैज्ञानिक भाडादर कायम गरेर एग्रिमेन्ट गरिदिनुपर्छ । हामीले कम्तिमा पनि तीनदेखि पाँच वर्षसम्मको लागि सम्झौता कायम गर्नुपर्ने माग गर्दै आएका छौं ।’ नयाँ टेण्डर खोल्दापनि वैज्ञानिक भाडादर कायम गरिनुपर्ने उनको माग छ ।

कार्यक्रममा संघका सल्लाहकार एवं महराका पति उज्वलजंग शाहले पनि मलमा भएको विसंगतिका बारेमा बोल्दा उल्टै आफूहरुलाई भौतिक रुपमै आक्रमण भएकोमा दुःखेसो पोखे । आफूहरुले घोटालाबारे प्रमाणसहित सत्य कुरा बाहिर ल्याउँदा पनि सरोकारवाला निकायले कुनै चासो नदेखाएको पनि उनले गम्भिर आरोप लगाए ।

उनले आफूहरुमाथि भौतिक आक्रमण भएको आज महिना दिन बित्न लाग्दापनि अहिलेसम्म सरकारले आक्रमणमा संलग्न व्यक्तिहरुलाई कुनै कारबाही नगरेकोमा आपत्ति जनाए ।

कार्यक्रममा मलमा व्यवसाय गर्दै आएकी अजिता सिटौलाले आफूहरुले मलमा भएको अनियमितताको बारेमा बोल्दा उल्टै धम्की खाईरहेको सुनाइन् । उनले सरकारले मलमा भएको आर्थिक घोटालाबारे यथाशिघ्र छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने र मलमा व्यवसाय गर्नेहरुलाई आगामी दिनमा पनि व्यवसायलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नुपर्ने माग गरिन् ।

त्यस्तै, कार्यक्रममा मलमा व्यवसाय गर्दै आएकी संघकी सदस्य अनिता बुढाथोकीले पनि मलमा भएको घोटालाबारे बोल्दा उल्टै ज्यान मार्न खोज्नु कानुनी राज्यको धज्जी उडाउने काम भएको टिप्पणी गरिन् ।

प्रतिक्रिया
सम्बन्धित