शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

‘गिरोह’सँग लडेर वैकल्पिक शक्ति थिग्रिन सक्ला ?

विनोद ढकाल २०७६ जेठ २ गते ९:५६

सत्ताले विकल्पविहिन राजनीतिको अभ्यास जारी राखेको छ, मुलुक मैदानमा । परम्पराको राजनीतिबाट मुक्त भई त्यसको विकल्पको खोजीमा केही थान दल पनि खुलेका छन् । प्रश्नबाटै सुरु गरौं, के परम्परागत शैली र सत्ताको विकल्प राजनीतिले पाउन सक्ला ? यसका जोखिमका विषयमा पनि चर्चा गरौं ।

रवीन्द्र मिश्रले सुसंस्कृत राजनीतिको स्थापनाका लागि वैकल्पिक शक्तिको उदय हुने विश्वासमा साझा विवेकशीलमा आवद्धता जनाए, संगठन विस्तारको काम पनि जारी राखेका छन् । तर, के उनको यो लक्ष्यसहितको उदय सम्भव छ ? यहि प्रश्न उज्वल थापाको विवेकशील नेपाली दलका लागि पनि फ्याँक्नुपर्छ । यी दलहरू दुई थिए एक भए फेरि दुई भए कि बनाइए ? यसबारेमा संश्लेषण गरौं ।

यी वैकल्पिक भनिएका दलले खासगरी अहिलेको पुस्ताको मुद्दालाई प्रतिनिधित्व गर्ने कोशीश गरेका छन् । राजनीतिबाट विमुख भएका, ‘पोलिटिक्स इज डर्टी गेम’ भन्ने सोच बनाउन बाध्य भएका, राजनीति त गर्नै हुन्न यो हामीले गर्ने चिज होइन भनी समाजका विभिन्न क्षेत्रमा बाँडिन परम्परागत शक्तिले बाध्य पारेकालाई प्रतिनिधित्व गर्ने कोशीश गरेका छन् । त्यसैले यीनको मुद्दा नै सामाजिक न्याय, संविधानको नियम र सुसंस्कृत मुलुकका पक्षमा देखिन्छन् । प्रभावको आकारलाई हेर्ने हो भने यीनले प्रायोजित राजनीति नगर्ने भएकाले नै यीनको सडक संघर्ष वा र्यालीमा सहभागीता कम र सामाजिक सञ्जालको प्रभावकारिता ज्यादा देखिन्छ ।

तर यी विभाजित विकल्पमा मानिसको प्रत्यक्ष र भौतिक सहभागीता कत्तिको सम्भव छ ?

नेपालमा मतको राजनीतिलाई विश्लेषण गर्दा, विकल्पका मत निक्कै न्युन छन् । यी विकल्पलाई मुलुकमा मत दिन नपाउने पुस्ता, दिन पाउने तर मुलुकबाट बाहिर जान बाध्य पारिएका पुस्ताको मात्र समर्थन छ । त्यसकारण यो, विश्वभर फस्टाएका सामाजिक सञ्जालमा प्रभावी छ । यी दलले गरेका कार्यक्रम वा सभामा उल्लेख्य उपस्थित नहुनुको कारण पनि त्यहि हो । नेपाली राजनीतिको परम्परागत संस्कार जति धेरै मान्छे उतार्यो, त्यति प्रभावकारी मान्ने छ ।

नेकपा वा कांग्रेस, राजपा वा समाजवादी पार्टी यीनले राजनीतिमा विभिन्न भ्रातृ संगठनका नाममा प्रभावमा पार्ने ‘गिरोह’लाई स्थापित गरेका छन् । प्रवित्ति र संस्कृतिका नाममा ति गिरोहलाई सीमित लाभका आधारमा परिचालित गरिएको छ । यसकारण विकल्पमा जोडिने शक्तिहरू बेरोजगारीको विकल्प खोज्दै परम्परावादीमा जोडिन पुग्छन्

विखण्डनको भाइरस
विखण्डनको विषय कुनै मुलुकको राष्ट्रिय स्वाधिनताको प्रश्न मात्र होइन । नेपाली, राष्ट्रिय स्वाधिनता र स्वाभिमानका निम्ति अटल छन् । तर, नेपाली समाजभित्र विखण्डनको भाइरस यस्तो बनाइएको छ, त्यसलाई उखेल्न साधारण एन्टीभाइरसले सक्तैन । त्यो हो, संगठनात्मक विखण्डन, सेपेरेशन ।
सत्ता अथवा प्रतिपक्ष । नेपालको सन्दर्भमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दल विशेषले विगत ७० बर्षमा स्थापित गरेको उनका थिति तर समग्र समाजका लागि वेथितिको जडले मुलुकलाई बन्दी बनाएको छ ।

विनोद ढकाल

हिजो सत्ता, हिजोको प्रतिपक्ष, आजको सत्ता, आजको प्रतिपक्ष र केही क्षेत्रीयतावादी हावामा हल्लिएका परम्परावादीले चलाएको गिरोहका कारणले यो बेथिति समाजको तल्लो तहसम्म पनि व्याप्त छन् । प्रायोजित चुनाव, खरिद गरिएका कर्मचारी, संगठनमा आवद्ध पारिएका विभिन्न सामाजिक संरचना, प्रभावको दबाबमा राखेका सुरक्षा संयन्त्रको छायाँमा मतको कुरा हुन्छ । यी अनेक ठाउँमा सक्रिय गिरोहको घेराबन्दीलाई चिर्न कति कठिन होला ?

नेकपा वा कांग्रेस, राजपा वा समाजवादी पार्टी यीनले राजनीतिमा विभिन्न भ्रातृ संगठनका नाममा प्रभावमा पार्ने ‘गिरोह’लाई स्थापित गरेका छन् । प्रवित्ति र संस्कृतिका नाममा ति गिरोहलाई सीमित लाभका आधारमा परिचालित गरिएको छ । यसकारण विकल्पमा जोडिने शक्तिहरू बेरोजगारीको विकल्प खोज्दै परम्परावादीमा जोडिन पुग्छन् ।

यसलाई पुष्टि गर्ने आधार अमेरिकाका एकजना राजनीतिज्ञ मिट रोम्नीको भनाई पनि हुन सक्छ । उनले भनेका छन्,‘यो देशमा अहिले नै नेता कायम भइसकेका छन् जसले हामीलाई साधारण लोभका आधारमा विभाजित पारिसकेका छन् ।’ उनको यो भनाई नेपाली राजनीतिले समाजको तल्लो वर्गसम्म  पारेको प्रभावलाई प्रतित गर्छ । र, उनले फेरि पनि भनेका छन्,‘यस षडयन्त्रविरुद्ध विकल्प खोज्न आवश्यक छ ।’

अमेरिकी आदर्श समाजमा मिटले देखेको सपना पूरा हुनसक्छ, किनकी त्यहाँको राजनीतिक व्यवस्था समाजको तल्लो वर्गसम्म विभाजित छैन । नेपालमा कति सम्भव होला ? जबकी, विश्वका विभिन्न मुलुकमा पुगेका परम्परावादीको संगठनका नाममा प्रवासी नेपाली पनि विभाजित बनिसकेका छन् ।

न श्रम गर्ने शक्ति राजनीतिमा लाग्न सक्ने अवस्था छ न डिग्रि गरेको युवाले आफूलाई यसमा समाहित गर्छ । उसलाई परम्परागत राजनीतिक दलका विभिन्न गिरोहले भौतिक रूपमा मुलुकबाट अलग हुन बाध्य पारिरहेको छ । विकल्पका नाममा खुलेका मिश्र वा थापाको छाताभित्र पनि देखिएको परम्परावादी ‘इगो’भित्र यहि गिरोहले खेलीसक्यो, थिग्रिन सक्ला या नसक्ला भन्ने प्रश्न यहिँनेर गर्नुपर्ने हुन्छ

मुग्लान ठेल्ने नियत
परम्परागत रोग यति गहिरो छ, विचार र राजनीतिबाट योग्य पुस्तालाई मुग्लान ठेल्ने नियतको बिऊ निक्कै नमिठोसँग रोपिएको छ ।

नेपाली समाजमा युवाको तीनवटा खास वर्ग र परिवेश छ । जो सम्पन्नता र गुजाराको आवश्यकको वरिपरि छन्, तिनलाई राजनीतिसँग कुनै सरोकार छैन भन्छन् । यसकारण डिग्रि हात लाग्नासाथ युरोप अमेरिका जाने उच्च वर्गीय जमात छ । अर्को, जो गुजारा र हातमुख जोर्नुपर्ने अवस्था छ, उनीहरू खाडी र मलेसीयामा अभ्यस्त छन् ।

जुनसुकै पार्टी होस्, तिनको युवा वा विद्यार्थी संगठनको संरचना, ति संरचनाभित्र अटाएका व्यक्ति र चरित्रको व्याख्या गर्दै जानुस् । कोही पनि राजनीतिक पृष्ठभुमीका देखिँदैनन् । एकाध अपवादलाई संगठीत गरेर बाँकी आपराधिक पृष्ठभुमी भएका व्यक्तिको हालीमुहालीलाई मलजल गरिन्छ ।

जोसँग प्रमाणपत्रका नाममा केही छैन, ठेक्कापट्टा र धाकधम्कीमा अब्बल छ उसलाई संगठित गरेपछि स्वभाविक रूपमा श्रम र अध्ययन भएको एउटा ठूलो तप्का त्यसबाट अलग हुन्छ । यो, भएको होइन, मनोवैज्ञानिक रूपमा अलग पारिएको हो ताकि सत्ताको विरासतमा अहिलेका नेताले रजगज चलाइरहुन् । जबसम्म, यो संस्कार भत्किँदैन, परम्पराको खाडल पुर्ने काम हुँदैन तबसम्म राजनीतिमा वैकल्पिक शक्तिको प्रभावकारी उदय हुन कठिन हुन्छ ।

जसलाई नेपालको राजनीतिसँग सरोकार छैन भनिन्छ । यीनलाई सरोकार होइन, सरोकार हुन नदिन षडयन्त्रका साथ सत्ताको वरिपरि रहीरहने गिरोहले जबरजस्ती बाहिर धकेल्ने काम गरेको छ तर सरोकार हुने बेलाका लागि अहिले नै संगठनको नाममा विऊ पनि रोपिएको छ । न श्रम गर्ने शक्ति राजनीतिमा लाग्न सक्ने अवस्था छ न डिग्रि गरेको युवाले आफूलाई यसमा समाहित गर्छ । उसलाई परम्परागत राजनीतिक दलका विभिन्न गिरोहले भौतिक रूपमा मुलुकबाट अलग हुन बाध्य पारिरहेको छ । विकल्पका नाममा खुलेका मिश्र वा थापाको छाताभित्र पनि देखिएको परम्परावादी ‘इगो’भित्र यहि गिरोहले खेलीसक्यो, थिग्रिन सक्ला या नसक्ला भन्ने प्रश्न यहिँनेर गर्नुपर्ने हुन्छ ।

परम्परावादी दलले भ्रातृ संगठनका नाममा खुलाएका युवा दस्ताबारे नेकपा महासचिव विष्णु पौडेलले हालै दिएको एउटा अभिव्यक्तिले पनि राजनीतिमा कसरी जरा गाडिएको छ भन्ने पुष्टि हुन्छ । पौडेलले भनेका थिए,‘युवा संघ र वाईसीएलले सरकारको विरोध गर्नु हुँदैन, रक्षा गर्नुपर्छ ।’ यसको अर्थ, परम्परावादीले जस्तो निर्णय गरे पनि त्यसमा लाहाछाप लगाएर प्रतिरक्षा गरिदिनुपर्ने । पौडेलले मात्र होइन, नेपाली कांग्रेस वा सरकारविरोधी शक्तिका नेता शेरबहादुर देउवाले एउटा सभामा भनेका थिए,‘सरकारी कामविरुद्ध युवाले आन्दोलन गर्नुपर्छ ।’ यो षडयन्त्रलाई पनि बुझ्नुहोस् । यो उपयोगको राजनीतिभित्रको स्वार्थलाई बुझ्नुहोस् । के, ति युवाले अब विकल्प खोज्नेछन् ? किन गिरोहका रूपमा उपयोग गरिरहेका छन्, बृद्ध, रोगी र सत्ताका भोगीहरूले ?

सिन्डिकेटको गाँठो
नेपालको सन्दर्भमा राजनीतिमा होमिएका मिश्र वा थापाहरूको वैचारिक मन्थन कुन तहसम्म पुग्न सक्ने हो । त्यो कति प्रभावकारी भएर समाजको कुनचाहिँ तहसम्म प्रभावकारी बन्न सक्ला भन्ने मूल प्रश्न हो ।

परम्परावादी शक्तिले एउटा विद्यालयको सञ्चालक समिति, सामुदायिक बनको सञ्चालक समिति अथवा समाजको साधारण अंगको नेतृत्वमा पनि जुन दलीय विभाजिकरण गरेका छन्, त्यो तहसम्म कसरी विचारले चिर्ने भन्ने चुनौति मुख्य प्रश्न हो ।

कर्मचारीतन्त्रमा भ्रात्री संगठनका नाममा गरिएको विभाजन, यातायात, सेवामूलक, उद्योगलगायतका क्षेत्रमा पेशागत संगठन होइन, दलीय संगठनका आधारमा गरिएको विभाजित प्रयोगलाई कसरी चिर्ने भन्ने अर्को प्रश्न हो ।

शिक्षक, प्राध्यापकदेखि विश्वविद्यालयसम्म रहेको बौद्धिक तहमा जबरजस्त छिराइएको दलगत प्रतिनिधित्व, कानुनकर्मी,, नागरिक समाज, पत्रकारितालगायतका क्षेत्रमा बलसाली बनाएर घुसाइएको राजनीतिक विचारधाराको नाममा दलगत स्वार्थको सिन्डिेकट तोड्न सकिएला वा नसकिएला भन्ने अर्को मूल प्रश्न हो ।

यी र यस्ता धेरै क्षेत्रमा सत्ता वा प्रतिपक्ष, हिजोको सत्ता वा हिजोको प्रतिपक्षको जबरजस्त संगठन बनाएर नियन्त्रणमा राखिएको छ, यसलाई पेशागत मात्र बन्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै सिन्डिकेट तोड्न, वैकल्पिक विचार सक्षम हुन सक्ला ? यो गिरोहसँग लड्दैगर्दा थिग्रिन सक्ला ? यो एउटा निक्कै ठूलो चुनौतिपूर्ण प्रश्न हो ।

फ्रान्सका इम्मानुएल म्याक्रो, अस्ट्रियाका जेबास्टियन क्रुज राजनीतिको कुनै छायाँमा हुर्किएका व्यक्ति होइनन् । युरोप अमेरिका अथवा दक्षिण अमेरिकासहित विश्वका धेरै मुलुकमा स्वतन्त्र हिसाबले हिँडेका र लामो समयसम्म राजनीति नगरेका युवा एकैपटक सत्ताको वागडोर सम्हाल्न आएका छन्

सम्भावित विकल्प
विकल्प असम्भव पनि छैन । जसको सद्भाव र नैतिक समर्थन बलियो छ, उसको बलियो उपस्थिति भौतिक रूपमा भयो भने, विकल्प खुल्ला छ । यसका केही उदाहरण छन् ।

फ्रान्सका इम्मानुएल म्याक्रो, अस्ट्रियाका जेबास्टियन क्रुज राजनीतिको कुनै छायाँमा हुर्किएका व्यक्ति होइनन् । युरोप अमेरिका अथवा दक्षिण अमेरिकासहित विश्वका धेरै मुलुकमा स्वतन्त्र हिसाबले हिँडेका र लामो समयसम्म राजनीति नगरेका युवा एकैपटक सत्ताको वागडोर सम्हाल्न आएका छन् । यी मुलुकमा राजनीतिक दलका नाममा कुनै युवा बन्धनमा हुँदैनन्, चाप्लुसीमा छैनन् । जीन्दगीभरी गिरोह सञ्चालन गरेर बस्नु परेको छैन ।

भविष्यको नाममा कुनै आमुख व्यक्तिलाई शाही सत्कार गर्नु परेको छैन । कसैको महिमागान गाएर अवसरको खोजी गर्नु परेको छैन । राजनीतिमा लाग्छु भन्ने सोच र भिजन लिएर मैदानमा उत्रिएको केही बर्षमा जनताबाट अनुमोदित भएका छन् । किनभने, त्यहाँको राजनीतिले समाजलाई पनि यो वा त्यो नाममा विभक्त बनाएको छैन । यो, षडयन्त्रको घेराबन्दी ति देशमा बनाउने प्रचलन छैन । उनीहरू भविष्यद्रष्टा बन्ने कोशिशमा हुन्छन्, सत्ता भन्दा आन्तरिक प्रजातन्त्र र ताकतलाई पुस्तान्तरण गर्नुपर्छ भन्ने मान्यतामा उभिएका छन् ।

राजनीतिलाई वाक्कदिक्क मान्ने मताधिकार नपाएको अहिलेको किशोरपुस्ता मताधिकार पाउने अवस्थामा पुगुञ्जेल विकल्पले तिनलाई छुनुपर्छ । परम्परागत गिरोहले राजनीतिबाट तिनलाई विमुख गराउनुअघि परिवर्तनका निम्ति वैकल्पिक शक्तिले कन्भिन्स गर्न सक्नुपर्छ ।

अर्को, मुलुकबाहिर रहेका नैतिक समर्थकलाई मुलुक फर्किएर मुलुक परिवर्तनका निम्ति संगठीत हुन आह्वान गर्नैपर्छ । ति ५० औं लाख युवा परम्परागत सिन्डिकेटले समाजको तल्लो तहसम्म प्रभाव पारेका तिनै समाजका प्रतिनिधि हुन् । तिनले परिवर्तनका निम्ति विकल्पको संगीत त्यो तहसम्म छर्न सक्छन् । यति गर्ने लक्ष्य र हिम्मत जुट्यो भने, वैकल्पिक शक्ति फुटेर होइन, जुटेरै अघि बढे, विकल्प असम्भव छैन ।

प्रतिक्रिया
सम्बन्धित