आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

अर्थविदहरुको सुझाव : संघीयता कार्यान्वयन गर्ने खालको बजेट आउनुपर्छ, कर्मकाण्डी होइन

दैनिक नेपाल २०७६ जेठ १ गते १७:०८


काठमाडौं, १ जेठ । अर्थविद्हरुले संघीयता बलियो बनाउने खालको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बजेट विशेष साक्षात्कारमा बोल्दै पूर्वमुख्य सचिव डा. विमल कोइरालाले कर्मकाण्डी र अग्ला अग्ला प्रतिज्ञा गर्ने खालको बजेट ल्याउन नहुने स्पष्ट पारे ।

कोइरालाले भने, ‘यसअघिका बजेटहरु प्रचारबाजी र प्रियतावादका लोभले गाँजेको थियो । पूरा नहुने कुरा धेरै हुन्थे । बजेटको पुस्तिका फोहोर भयो ।’ संघीयताको आभाष नहुने बजेट ल्याउन नहुने उनको सुझाव छ ।

सरकारले जनतासामू देखाएको आशा पूरा गर्नुपर्ने पनि उनको भनाई छ । उनले भने, ‘हाम्रो स्रोतको आयतन साँघुरो छ । सरकारले अब प्राथमिकताहरु तोक्नुपर्छ । जनताका जीवनमा परिवर्तन ल्याउने कार्यक्रमहरु ल्याउनुपर्छ । पेचिला प्रश्नहरु सामना गर्ने कार्यक्रम ल्याउनुपर्छ ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले संघीयतालाई जोडदार रुपमा कार्यान्वयन गर्ने खालको बजेट आउनुपर्ने सुझाव दिए ।

क्षेत्रीले संघले ठूला–ठूला आयोजना, प्रदेशले मझौला र स्थानीय सरकारले सानातिना आयोजनाहरु हेर्नेगरि बजेट ल्याउन सरकारलाई सुझाए । उनले खर्च गर्न नसक्ने बजेट ल्याउन नहुनेपनि तर्क गरे ।

विगतमा एक सातामा कुल बजेटको ११ प्रतिशत बजेट खर्च भएको तितो सुनाउँदै बजेटको कार्यान्वयनको अनुगमनमा पनि विशेष जोड दिनुपर्ने धारणा राखे । त्यस्तै, रकमान्तर गर्ने कुरापनि संवेदनशील रहेकोले यसतर्फपनि सरकार सचेत हुनुपर्ने उनको भनाई छ ।

अर्का अर्थविद् डा. चन्द्रकान्त पौडेलले योजना आयोगको १५ औं योजनासँग अब आउने बजेट हार्मोनाईज हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले दुई तिहाई बहुमतको स्थायी सरकार छ । संस्थागत सुधारहरु देखा परेका छन् । भर्खरै उत्साहजनक लगानी सम्मेलन भएको छ ।’

उनले पपुलिष्ट र महत्वकांक्षी बजेट ल्याउन नहुने सुझाव दिए । उनले भने, ‘साहसपूर्ण प्रस्तुति हुनुपर्छ । समाजवादी अर्थतन्त्रको लक्षण देखिनुपर्छ । अहिलेको बजेट समाजवादी बजेट आउने संकेत प्राप्त भएको छ ।’

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा र दोहोरो अंकको आर्थिक वृद्धिद्धरको कुरा उल्लेख भएको सुनाउँदै उनले यो राम्रो पक्ष भएको जिकिर गरे ।

पौडेलले पूर्वाधार विकासमा जोड दिनेगरि बजेट आउने विश्वास दिलाए । उनले भने, ‘स्वाधिन अर्थतन्त्रको लक्षण शिरोधार्य गर्नुपर्छ ’ मुलुकको व्यापार घाटालाई सम्बोधन गर्नेगरि बजेट आउनुपर्ने उनको सुझाव छ ।’

प्रतिक्रिया
सम्बन्धित