मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

‘न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए, प्रहरी उजुरी लिन मान्दैन’

दैनिक नेपाल २०७६ जेठ १ गते १५:१८


काठमाडौं, १ जेठ । यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग गरेका हुन् । आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदा पनि कतैबाट उचित न्याय नपाएको उनले गुनासो पोखे । उनले भने, ‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ ।’

शल्यक्रिया गर्नुपूर्व विरामीको दुवै मृगौला ठीक रहेको तर, शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाइएको पनि बुवाले सुनाए । उनले भने, ‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ । हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’

आफूहरुले स्वास्थ्य मन्त्रालयमा पुगेर पनि न्याय पाउँ भनि हारगुहारसमेत गरेको उनले सुनाए । उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे । उनले भ

ने,‘छोरीको मृत्युको सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो हामीहरु सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन ।’

उनले भने, ‘अब हामी कहाँ जाने ? हामीलाई कहिले न्याय दिनुहुन्छ ?

कार्यक्रममा बालिकाका आफन्त सरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए । उनले भने, ‘मुटुको शल्यक्रिया हुँदा मृगौलाको भागमा किन चिरियो ? सुरुदेखि नै चिकित्सकले गल्ती गरिरहनुभएको छ ।’

प्रहरी प्रशासनकहाँ पटक–पटक धाउँदापनि किटानी जाहेर लिन नमानेको यादवले पनि आरोप लगाए । उनले थपे, ‘कहिले प्रहरी कार्यालय महाराजगन्ज त कहिले सरकारी वकिलको कार्यालय रकहिले जिल्ला प्रशासन कार्यालय धाइरहेका छौं । तर, हाम्रो उजुरी दर्ता गराउन कोहीपनि तयार छैनन् ।’

उनले प्रहरी वृत्त महाराजगन्जले भने व्यक्तिको नाम हटाएर उजुरी दिए तत्काल मुद्दा दर्ता गर्ने भन्दै फकाउने गरेको पनि जनाए । त्यस्तै, उनले पछिल्लो समय आफूहरुलाई ज्यानको पनि असुरक्षा महशुस भैरहेको जानकारी दिए ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा पुग्दा त्यहाँ अस्पतालका निर्देशक जोतेन्द्र शर्मा, जो बालिकाको शल्यक्रियामा संलग्न थिए, उनी पनि मन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र सचिव पुष्पा चौधरीपनि सँगै थिए ।’ मन्त्रालयले उजुरी दर्ता गरेको तर अहिलेसम्म कुनै कारबाही नगरेको उनले सुनाए ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक रगतका कारण आकृतिकुमारी साहको मृत्यु भएको थियो । आकृतिको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ ।

तर, बालिकाका बुवा रामप्रवेशले छोरीको शव कहाँ राखेको छ ? भन्ने कुरा अहिलेसम्म थाहा नभएको सुनाए ।

कार्यक्रममा बरिष्ठ अधिवक्ताद्धय डा. सुरेन्द्र भण्डारी र डा. नारायण घिमिरेले घटनामा लापरवाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । भण्डारीले मृतकको पिताले लिएर गएको जाहेरी दर्ता नगरिएको दुस्कृतिसँग सम्बन्धित दायित्वको मुद्दा हालिनेपनि जनाए ।

भण्डारीले आफुहरुले पीडित परिवारलाई सहयोग गर्ने विश्वास दिलाए । उनले भने,‘कानूनको शासनलाई धज्जी उडाउने काम भएको छ ।’ प्रहरीले अनुशन्धान गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उनले जोड दिए ।

नेपालका लागि नेपालीका अभियन्ता अधिवक्ता घिमिरेले यो घट्नाको अनुसन्धानको दायरा अघि बढ्नुपर्ने माग गरे । उनले भने, ‘प्रहरीले उजुरी लिनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित