शनिबार, ४ साउन २०७६
DainikNepal.com
शनिबार, ४ साउन २०७६

आगलागीमा परि घाइते भएका बोहराको मृत्यु

दैनिक नेपाल २०७६ वैशाख ३१ गते १७:०२


सल्यान, ३१ बैशाख । सल्यानमा बैशाख २८ गते आगलागीमा परि घाइते भएका एकजनाको ज्यान गएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाडाँका ४७ बर्षिय खगेन्द्र बोहराको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

२८ गते इन्द्रेणी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका उनको उपचारको क्रममा काठमाडौँको कीर्तिपुर अस्पतालमा मंगलबार बिहान ५ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आगलागीमा परि शरीर जलेर घाइते भएका बोहरालाई जिल्ला अस्पताल सल्यानमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि सोही दिन काठमाडौँ लगिएको थियो । यो सँगै आगलागीमा परि ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

वनमा आगो लगाउने एक जना पक्राउ

वनमा आगो लगाउँदै गरेको अवस्थामा सल्यानमा एक जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ स्थित आमा चौतारी नजिक वनमा आगो लगाइ रहेको अवस्थामा एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी सल्यानले जनाएको छ ।

शारदा नगरपालिका वडा नम्बर २ निवासी ५९ बर्षिय तिर्थ बहादुर खाँडलाई आगो लगाउदै गरेको अवस्थामामा वनबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल सल्यानका डिएसपी बिमल डाँगीले बताए । खाँडले लगाएको आगो नियन्त्रणमा आएको छ ।

वनमा आगो लगाउने खाँडलाई नियन्त्रणमा लिएर सोधपुछ पछि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालय सल्यान लाई जानकारी गराई बुझाएको डिएसपी डाँगीले बताए ।

वन जंगलमा जथाभावी आगो लगाउने जोकोहीलाई पनि नछाडिने प्रमुख जिल्ला अधिकारी चुढाराज न्यौपानेले जानकारी दिए । उनले आगो लगाउनेलाई पहिचान गरि ऐन अनुसार कारवाही गरिने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित