आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

नेपाली समाज : अतिरिक्त अफेयर जोगाउन पतिको हत्या गर्ने क्रुर पत्नीहरू

दैनिक नेपाल २०७६ वैशाख २९ गते १०:५५

काठमाडौं, २९ वैशाख । खुर्पा, चिर्पट, आग्लो, खुकुरीले हानेर पतिको हत्या ! यी शीर्षकमा आइरहने समाचारभित्रका कारण पतिको हिंसाको प्रतिकार नै रहेको भेटिन्छ । दिनहुँ जसो मुलुकका विभिन्न ठाउँबाट यसप्रकारका समाचार आइरहेका हुन्छन् ।

तर, पत्नीले पतिको हत्या गरेका अन्य कारण मध्ये हो, अतिरिक्त अफेयर पनि । जुन नेपाली समाजमा अहिले बढ्दो छ । भिनाजुसँगको प्रेमका कारण पतिको हत्या, प्रेमीसँग मिलेर पतिको हत्या अथवा कन्ट्रयाक्ट किलर लगाएर पतिको हत्यालगायतमा अतिरिक्त अफेयर नै मुख्य कारण देखिन थालेको हो ।

घटना १

बुटवल मैनावगर बस्दै आएका फिरोज खानको जीवनमा सुखै थियो । करिब २० वर्षअघि भारतको विहारबाट नेपालमा रोजगारीका लागि पसेका उनी गाडीमा सुनौला रङ भर्थे । उनी ज्योति इन्जिनियरिङका हेड मिस्त्री थिए । बुटवल आएपछि उनले साहिन खातुनसँग विवाह गरे । दुई छोरा रहिन र राहेश जन्मे ।

१२ चैत, २०७५ फिरोजका लागि सधै जस्तै रहेन । घरमा भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर साढु दाई (पत्नीका भिनाजु) आएका थिए । फिरोज गढी टोलमा भाडामा लिएको घरमा छोराहरूसँग उनी बस्थे । उनी काम सकेर घर फर्किए । तर घरभित्र पस्नै नपाई पछाडीबाट कसैले गोली चलायो । फिरोज भुईमा ढले । छोराहरू चिच्याउदै बाहिर निस्किए । छिमेकीको जमघट भयो । तर भारतीय नम्बर प्लेटको मोटरसाइकल गायव भइसकेको थियो । अस्पताल नपुग्दै प्राण त्यागेका फिरोजलाई लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकले मृत घोषणा गरे ।

उनको हत्या कसरी भयो भन्ने अनुमान लगाउन प्रहरीले ढिला गरेन । उनकै पत्नी साहिनप्रति लख् काट्यो । अनुसन्धानमा प्रमाण समेत फेला प¥यो । पत्नीसँग कहिल्यै झगडा नगरेका फिरोज तिनै पत्नीबाटै मारिए । कारण थियो, साहिन र उनको भिनाजु कादीर अन्सारीबीच प्रेम । प्रदेश ५ मा ६ महिनायता हत्याका घटना ४ भएका छन् ।

घटना २

इटहरी उपमहानगरअन्तर्गत खनार–१३ स्थित कार्टुन फ्याक्ट्रीअगाडि मृत अवस्थामा फेला परेका स्थानीय ३५ वर्षीय श्याम सरदारको उनकै पत्नीले हत्या गरेको तथ्य सार्वजनिक भयो ।

परपुरूषसँग अवैध सम्बन्ध बढेपछि पतिले थाहा पाउने डरले प्रेमीसँग मिलेर ३२ वर्षीया पत्नी देवकी सरदारले आफ्नै पतिको निर्मम हत्या गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ।

पत्नी समेतको संलग्नतामा श्याम सरदारको सुपारी दिई हत्या गरेको प्रहरीले जनाएको छ । ३५ वर्षीय श्याम सरदारको विषयमा प्रहरीले खोजी गर्दा मोटरसाइकलले थिचेको अवस्थामा उनको शव फेला परेको थियो । हत्या गरी मोटरसाइकल दुर्घटना भएको देखाउने प्रयास गरे पनि घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले अनुशन्धान शुरू गरेको थियो ।

घटनाको विषयलाई लिएर प्रहरीले उनकी पत्नी ३२ वर्षीया देवकी सरदारलाई नियन्त्रणमा लिए पनि शुरूमा सफलता हात नपर्दा उनी त्यत्तिकै रिहा भएकी थिइन् तर प्रहरीले केही समयपछि आवश्यक प्रमाण जुटाएर पुनः पक्राउ गरेपछि प्रेमीसँग मिलेर पतिको हत्या गरेको उनले स्वीकारिन् ।

पत्नी देवकीकै बयानका आधारमा प्रहरीले सरदारको हत्यामा संलग्न उनका प्रेमी तथा मुख्य योजनाकारसमेत रहेका सुनसरी दुहबी–९, छातावेली निवासी वर्ष ३९ का ताहीर मिया, हत्यामा संलग्न दुहबी–९ कै मोहम्मद जाविर हुसेनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाएको जनाएको छ ।

घटना ३

राजधानीमा एक महिलाले आफ्नै पतिको हत्या गर्न ‘कन्ट्रयाक किलर’ प्रयोग गरेको फेला परेको छ । संखुवासभा मकालु घर भएर टे्रकिङ व्यवसाय गर्दै आएका फुदोर्चि शेर्पालाई पत्नी याङजी शेर्पाले ‘कन्ट्रयाक किलर’ खोजी हत्या गर्न लगाएकी हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले योजनाकार याङजी र उनका प्रेमी पासाङ निम्बा शेर्पालाई पक्राउ गरेको छ ।

उनीहरूले पूर्वमाओवादी लडाकु नीरकुमार कार्की र अर्का एक ट्रेकिङ व्यवसायी फुर्तेन्जी शेर्पालाई प्रयोग गरेर फुदोर्चिको हत्या गरेका हुन् । उनीहरूले हत्या गरेबापत प्रतिव्यक्ति १ लाख २५ हजार रुपैयाँ लिएका थिए । कार्की माओवादी लडाकु हुन्, उनले स्वैच्छिक अवकाश लिएर पैसा समेत पाइसकेका व्यक्ति हुन् ।

फलाम काट्ने ह्याक्सोले घाँटी सेरेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको थियो । मृतक फुदोर्चिले चपली भद्रकालीमा नयाँ घर निर्माण गरिरहेका थिए । त्यही घरको सामान कुर्न बनाएको टहरोमा उनको हत्या गरिएको एसएसपी सुवेदीले बताए ।

मृतक फुदोर्चि र याङजीले २०५८ सालमा प्रेमविवाह गरेका थिए । तर पासाङसँग प्रेम सम्बन्ध सुरु भएपछि उनी हत्याको योजनासम्म पुगिन् । फुदोर्चि बाहिर गएका बेला पासाङ याङजीलाई भेट्न घरमा समेत आउने गरेका थिए । फुदोर्चिले आफ्नी पत्नी र पासाङबीच प्रेम सम्बन्धका बारेमा थाहापछि विवाद भएको थियो । विवाद प्रहरी प्रभाग कपनसम्म पुगेपछि प्रहरीले उनीहरूलाई मिलापत्र गराएको थियो । फुदोर्चिले क्षतिपूर्तिबापत पासाङबाट एक लाख रुपैयाँ समेत लिएका थिए ।

विवाद र मिलापत्रपछि पनि पासाङ र याङजीबीचको प्रेम सम्बन्ध टुटेन । प्रेम सम्बन्ध बढ्दै गएपछि पति बाधक देखेर नियोजित रूपमा हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना घटेका दिन निर्माणाधीन घरको सामान कुर्न बनाइएको छाप्रोमा गएर उनीहरूले हत्या गरेका थिए । मृतककी पत्नीले पासाङलाई फोन गरेर घटनास्थल बोलाएकी थिइन् । त्यो रात पतिपत्नी त्यही छाप्रोमा सुत्न गएका थिए । फुदोर्चि निदाएपछि याङजीले पतिकै मोबाइलबाट मिसकल गरेर घटनास्थल बोलाएकी थिइन् । अनि आफू नजिकै रहेको कोठामा गएर सुतेकी थिइन् ।

राति उनीहरूले झुन्ड्याएर मार्ने योजना बनाएको भए पनि मृतक कराएपछि ह्याक्सोले किलकिले रेटेर हत्या गरेका थिए । नीरकुमारले खुट्टा र फुर्तेन्जिले घाँटी समातेपछि पासाङले रेटेर हत्या गरेका थिए ।

भाँडिएको समाज

पत्नीबाट पतिको हत्याका कयन छानबिन प्रहरीले गर्दै आएको छ । नेपाली समाजमा यस्ता घटनाका पर्याप्त कारणचाहिँ बिहेपछिको अफेयर रहने गरेको निष्कर्श निकाल्न कठिन छैन ।

‘बेरोजगारीको समस्याले वैदेशिक रोजगारीमा गएर फर्किएका कतिपय पतिको पनि यसरी नै हत्या भएका घटना पर्याप्त छन्’, प्रहरी अधिकारी भन्छन्,‘कतिपयले भने आफ्नो गहिरो प्रेमका लागि पतिको हत्या अन्तिम विकल्पका रूपमा स्वीकार गरेको भेटिन्छ ।’

त्यसो त नेपाली समाजमा अतिरिक्त प्रेम सम्बन्धका कारण हत्या र मृत्युसम्मका खबर पनि निरन्तर आइरहेका छन् । मोरङको पथरीकि रिना बस्नेत मृत्यु प्रकरण हालैको एउटा उदाहरण हो । खोजी गर्दै जाँदा उनको पनि अतिरिक्त प्रेमी फेला परेका थिए ।

‘खासगरी निम्न मध्यमवर्गीय परिवारमा हुने अतिरिक्त सम्बन्धकै कारण हत्या भएको देखिन्छ । उच्च घरानीयामा अपराधको साटो डिभोर्सको रेट ज्यादा छ’, प्रहरी अधिकारी भन्छन्,‘सामाजिक बनोट र अल्पज्ञानका कारण हत्यासम्मको अवस्थामा योजनाबद्ध हिसाबले पुगेको अनुसन्धानहरूमा पाइन्छ ।’

प्रतिक्रिया
सम्बन्धित