सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

हङकङमा चीनका कारण संसदमा भक्कुरा-भक्कुर, सांसदहरू घाइते

दैनिक नेपाल २०७६ वैशाख २९ गते ६:३०

हङकङ, २९ वैशाख । चीनको शक्ति अझ बढाउने गरी हुन लागेको हङकङको सुपुर्दगी कानूनको विषयमा चर्केको विवादमा झगडा हुँदा त्यहाँको संसदमा कुटाकुट भएको छ ।

शनिबार हङकङको संसदमा उक्त कानुनको पक्ष र विपक्षमा रहेका सांसदबीच कुटाकुट हुँदा कयौँ घाइते भएको र एकजनालाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ।

हङकङले लागू गर्न लागेको सुपुर्दगी कानूनमा सन्दिग्ध अपराधीहरूलाई चीनमा सुपुर्दगी गर्नुपर्ने नियमसहितका व्यवस्था प्रस्तावित छन् ।

हङकङमा पक्राउ परेका विदेशीहरूसहितका सन्धिग्धलाई सम्बन्धित मुलुकसँग सुपुर्दगी सन्धि नगरिकनै चीन बुझाउनुपर्ने व्यवस्था हाल प्रस्तावित कानूनमा गरिएकोले बेइजिङइतर सांसदहरू यसको विरोधमा रहेको रोयटर्सले जनाएको छ ।

विपक्षीहरूको डर यो छ कि सन् १९९७ मा चीनलाई हङकङ हस्तान्तरण गरिँदा व्यक्त स्वतन्त्रताको प्रतिबद्धतालाई हाल प्रस्तावित कानुनले उल्लंघन गर्छ ।

शनिबारको विवाद यो कानुनको पक्षमा रहेका बेइजिङपक्षधर सांसद र कानूनको विपक्षमा रहेका लोकतन्त्र पक्षधर सांसदहरूले अलगअलग रुपमा बहस आयोजना गर्न खोज्दा भएको रोयटर्सको समाचारमा उल्लेख छ ।

विगतमा बेलायतको उपनिवेशमा रहेको हङकङको सार्वभौमसत्ता सन् १९९७ देखि चीनको हातमा छ । तत्कालीन ग्रेट ब्रिटेन र चीनबीच सन् १८३९ देखि १८६० सम्म भएका सैन्य तथा व्यापार युद्धका कारण चीनले हङकङसहितको भूभाग ब्रिटेनको हातमा सुम्पिएको थियो । यो युद्धलाई अफिम वार भनिन्छ ।

सन् १८९८ मा ९९ वर्षका लागि लिजमा दिने गरी ब्रिटेनसँग चीनले सहमति गरेको थियो। यो लिज सन् १९९७ मा सकिएपछि बेलायतले चीनलाई हङकङ फिर्ता गरेको थियो। त्यसयता हङकङ चीनको विशेष प्रशासनिक क्षेत्रा रुपमा हङकङ छ जसको आधारभूत कानुनअनुसार हङकङलाई नियन्त्रित स्वाधिनता उपलब्ध छ ।

प्रतिक्रिया
सम्बन्धित