मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

विदेशमा कालोधन थुपार्नेलाई नेताहरूको सुनपानी !

स्वीस बैंकमा भएको रकम फिर्ता ल्याउने विषयमा नीति तथा कार्यक्रममा उल्लेख छैन, कालो धनमा सत्ता र प्रतिपक्षका नेताकै संलग्नताको शंका

दैनिक नेपाल २०७६ वैशाख २८ गते ११:१५

–विनोद ढकाल

काठमाडौं, २८ वैशाख । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नाम जोडिने व्यक्ति हुन्, अजेयराज सुमार्गी । उनको उठबस हुनुको अर्को प्रमाण हो– शुक्रबार खुमलटारमा प्रचण्ड–सीता दाहाल ५० औं वैवाहिक बर्षगाँठको उपस्थिति । बुके बोकेर त्यहाँ पुगेका सुमार्गी तिनै हुन्, जसको कालो धन स्विस बैंकमा रहेको खुलासा ‘नेपाललिक्स’मार्फत खोज पत्रकारिता केन्द्रले गरेको थियो ।

अझ गज्जबको कुराचाहिँ प्रचण्डको उक्त पुन ः विवाहचाहिँ विवादास्पद व्यापारी निरजगोविन्द श्रेष्ठको महलमा भएको पन िचर्चा छ । उनी पनि नेपाललिक्समा जोडिएका विवादीत व्यापारी हुन् ।

सोही सनसनी खुलासामा सफलता मिलेका कारण खोपकेका सम्पादक शिव गाउँले यसै बर्ष पुरस्कृत भए । तर, सरकारले यस प्रकरणमा नाम जोडिएका नेपालका विवादीत व्यापारीलाई दण्ड दिएन । संसदमा प्रतिपक्षीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दा संशोधनमा यो विषय उठाएनन् ।

अघिल्लो महिनाको मध्यतिर नेकपाका जिल्ला तहका नेता टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड चन्द्रागिरी हिल्समा रात बिताउन पुगे । र, स्वागत गरेका थिए व्यापारी चन्द्र ढकालले । ढकाल पनि नेपाललिक्समा नाम जोडिएका व्यापारी हुन्, जसको कालो धन स्विस बैंकमा रहेको उल्लेख छ । तर उनले विज्ञप्ति निकालेर समाचार सार्वजनिक भएको केही दिनमा नै त्यसको खण्डन गरे ।

लगानी सम्मेलनको आयोजना गरेका बेला प्रधानमन्त्री ओली, उद्योगमन्त्री मात्रीका यादव, अर्थमन्त्री युवराज खतिवडासँगै एकै मञ्चमा देखिएका थिए, उपेन्द्र महतो । सोल्टी होटलमा भएको कार्यक्रममा उनको सक्रियता सरकारका प्रमूख व्यक्तिसँगै देखियो । उनी पनि नेपाललिक्सले खुलासा गरेका मध्ये एक जना हुन् ।

यी त प्रत्यक्ष देखिएका उदाहरणमात्र हुन् । यसभन्दा बाहेक नेपाली रकम स्विस बैंकमा जम्मा गर्ने अनेक व्यक्तिको प्रशासन, नेतासँग कुनै न कुनै प्रकारको कनेक्शन र उठबस रहेका उदाहरण पर्याप्त छन् ।

गैरकानूनी आर्जनको माध्यमबाट सत्ता र शक्तिमा बसेकाहरूसँग मिलेमतो गरेर लोकतान्त्रिक शासन प्रणालीलाई नै विकृत बनाउने यो वित्तीय अपराधमा मुलुक भित्र र बाहिरका व्यक्ति संलग्न छन् ।

खोपकेले यस प्रकरणमा को कसरी संलग्न छन्, सप्रमाण देखाएको थियो । यसले मुलुकलाई कस्तो असर पार्छ ? त्यसको पनि खुलासा पनि थियो । यो सन्दर्भका बेला चलिरहेको सदनमा प्रधानमन्त्री ओलीले हलुका पारामा भनेका थिए,‘केहीले खण्डन गरिरहनु भएको छ, सरकारले अध्ययन गरिरहेको छ । त्यसपछि छानबिन हुन्छ ।’

तर, छानबिन होइन यस प्रकरणमा धेरै रकम भेला पार्नेसँग उठबसचाहिँ देखियो । तर, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा सामान्य शव्दका विषयमा बारम्बार हल्ला गर्ने प्रतिपक्ष कांग्रेसले सोधेन, ‘आगामी बर्ष कालो धन नेपाल फिर्ता गर्न सरकारले कुनै रणनीतिक विषय किन उठाएन ?’ यस प्रकरणमा जोडिका व्यापारीको कांग्रेसका नेतासँग पनि राम्रै उठबस रहेको यसैले प्रमाणित गर्छ ।

करिब तीन हजार दस्तावेज केलाउने काम गर्न खोपके टीमलाई झन्डै एक वर्ष लागेको थियो । यस क्रममा समाचारसँग प्रत्यक्ष जोडिएका, उनीहरूको कार्यालयमा कार्यरत, सहयोगी, आफन्त, सरोकारवाला र विशेषज्ञसमेत गरेर १ सय १० भन्दा बढी व्यक्तिसँग अन्तर्वार्ता, प्रतिक्रिया र राय लिएर यो विवरण सार्वजनिक भएको थियो ।

यसक्रममा खोपले अन्तर्राष्ट्रिय खोज पत्रकारिता केन्द्र (आईसीआईजे) आवद्ध विभिन्न ६ विदेशी मुलुकका खोज पत्रकारहरूले उपलब्ध गराएका विवरणहरू, कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त कागजात र अदालती आदेशको अध्ययन गरेको थियो । ती व्यक्ति र निकायबाट प्राप्त तथ्यलाई डिजिटल अनुसन्धानबाट पनि परीक्षण गरिएको थियो । त्यसकै आधारमा यी पाँचवटा खोजमूलक सामग्री तयार पारिए ।

पहिलो, नेपालको कानून अनुसार नेपालीले विदेशमा पैसा राख्नु गैरकानूनी काम हो । त्यसमाथि अन्तर्राष्ट्रिय समुदायले निगरानी गरिरहेको र शंकास्पद सूचीमा राखेको बैंकहरूमा रकम जम्मा गर्ने नेपाली खोजको विषय बने । कसले राखिरहेको छ स्विट्जरल्याण्डका बैंकहरूमा पैसा भनेर पहिलो स्टोरीमा खुलासा भयो ।

दोस्रो, अवैध आर्जन लुकाउन अनुकूल मानिने ‘ट्याक्स हेवन’ मुलुकमा नेपालीको लगानी भेटियो । त्यस्ता देशहरूबाट नेपालमा आइरहेको ‘प्रत्यक्ष वैदेशिक लगानी’ अर्को खोज समाचार बन्यो ।

तेस्रो, नेपालका उदीयमान भनिने व्यवसायीहरूले ‘ट्याक्स हेवन’ मुलुकमा आफ्नै नाममा कम्पनी दर्ता गर्ने त्यही र अन्य कम्पनीहरूबाट समेत नेपालमा ‘लगानी’ ल्याउने गरेको भेटिया े। यसलाई तेस्रो समाचार बनायो, खोपकेले ।

चौथो, कानूनतः नेपाल सरकारको अनुमति नलिई नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउँदैन । तर, नेपाली नागरिक र कानूनी रूपमा गैरआवासीयले कर छल्ने, कर छल्न अनुकूल देशहरूमा लगानी गरी फेरि नेपालमा त्यो ‘लगानी ल्याउने’ काम गरेको भेटियो । नेपालका प्रमुख कर छलीका घटना विवरणहरू पनि जोडिन आइपुग्छन् ।

पाँचौं समाचार हो, नेपालीको विदेशमा लगानी। विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ ले नेपालीलाई विदेशमा कुनै पनि प्रकारको लगानी गर्न निषेध गरेको छ । तर, यस विपरीत ५५ नेपालीले विदेशमा लगानी गरेको भेटियो ।

५६ अर्ब भन्दा बढी रकम कर छली गरी स्विस बैंकमा पुराउने कथित व्यापारीमाथि अनुसन्धान र कारबाहीका लागि सरकारले कुनै आयोग अथवा समिति गठन गरेन । न प्रतिपक्षी नेपाली कांग्रेसलगायतले त्यसमा दबाब दिए । यसले के देखाउँछ भने नेपालको राजनीतिक दललाई यीनै ५५ जनाले यताउता गरी खेलाइरहेका छन्, घुमाइरहेका छन् । र, नेपाली राजनीतिक दलका नेताहरू उनको दुई नम्बरी काममा सुनपानी छर्किरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित