दार्चुला, २७ वैशाख । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले स्वतन्त्र प्रेसलाई लोकतान्त्रिक व्यवस्थामा नियन्त्रण गर्न नपाइने बताएका छन् ।
नेपाल प्रेस युनियन दार्चुला शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा युवा नेता खनालले वर्तमान सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने गरेर संसदमा दर्ता गराएको विधेयकको विरोध गरे ।
‘यो सरकारसँग जनताका धेरै अपेक्षा छन् । जनतालाई दुई तिहाइको बहुमत दिनु भनेको स्वतन्त्रतामाथि नै अंकुश लगाउला भनेर होइन’, उनले भने, ‘संविधानले नै प्रेसलाई स्वतन्त्रता दिएको छ । जनताको अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउन पाइँदैन ।’
नेपाली कांग्रेसले स्वतन्त्र प्रेसलाई र पत्रकारलाई अफ्ठ्यारो बनाउने कुनै पनि प्रावधानलाई साथ दिन नसक्ने नेता खनालले बताए ।
सरकारले पत्रकारहरूलाई दश लाख जरिवाना र कैद सजायसहितको विधेयक संसदमा दर्ता भएपछि विरोध हुन थालेको छ ।
कांग्रेसभित्रको पार्टी एकतालाई कायम गर्नुपर्ने बताएका युवा नेता खनालले भने, ‘कांग्रेसमा केही विवादहरू देखिएका छन् । ती समस्यालाई समाधान गर्नुपर्छ । पार्टी एकता कायम गर्नुपर्छ । त्यसको सुरुवात हामी आफैबाट गर्नुपर्छ ।’
सरकारले जनतालाई निर्वाचनमा गरेको प्रतिवद्धताअनुसारको काम गर्न नसकेको आरोप लगाएका कांग्रेस नेता खनालले कांग्रेसको जागरण अभियानका बेला सरकारका गलत कुराको भण्डाफोर गरिने बताए ।
कांग्रेसका भ्रातृसंगठनहरूलाई क्रियाशील बनाएर संगठन सुदृढीकरण गर्नुपर्ने उनले बताए । उनले दार्चुला जिल्लामा कांग्रेसले जितेका स्थानीय तहहरूमा कर नबढाउन कांग्रेस केन्द्रीय कार्यसमितिको नीतिअनुसार जनप्रतिनिधिहरूलाई निर्देशन दिइने बताए ।
कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खनाल केन्द्रीय प्रतिनिधिका रुपमा दार्चुला जिल्लामा जागरण अभियानका लागि खटिएका छन् । उनले दार्चुलाको गाउँगाउँमा पुगेर पार्टीको संगठन निर्माण र कार्यकर्ताको मनोबल उठाउन भूमिका खेल्नेछन् ।












प्रतिक्रिया