काठमाडौं, २७ वैशाख । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधनका क्रममा बोलेका गैरसंसदीय शब्दावलीहरू हटाउन निर्देशन (रुलिङ) दिएका छन् ।
संसदको शुक्रबार बसेको बैठकको शुरुमै सभामुख महराले वैशाख २४ गते मंगलबार बसेको बैठकमा सम्बोधन गर्ने क्रममा प्रमुख विपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित गरेर अभिव्यक्ति दिएपछि कांग्रेसका सांसद र प्रधानमन्त्री ओलीबीच सवालजवाफ भएको थियो ।
कांग्रेसले प्रधानमन्त्री ओलीद्वारा सरकारको नीति तथा कार्यक्रम पारित हुने दिनको बैठकमा गैरसंसदीय शब्दहरू बोलेको भन्दै हटाउन माग गरेर मंगबार नै संसद अबरोध गरेको थियो ।
अबरोधका बीच नीति तथा कार्यक्रम पारित भएको थियो । कांग्रेसको माग र दवावपछि सभामुख महराले प्रधानमन्त्री ओलीको सम्बोधनका क्रममा आएका गैरसंसदीय शब्दहरू हटाउन निर्देशन दिएका हुन् ।
बैठकमा सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले कांग्रेसका सांसदहरूद्वारा बोलिएका गैरसंसदीय शब्दावली पनि हटाउन माग गरेका थिए । जवाफमा सभामुख महराले सबै शब्दावली हटाउन आफूले निर्देशन दिएको बताए । ‘प्रधानमन्त्रीको मात्रै होइन सबैको गैरसंसदीय शब्द हटछन’, सभामुख महराले भने ।
संसदको बैठक शुरु हुनै लाग्दा कांग्रेसका सांसदहरू आ–आफनो सिटबाट उभिन खोजेका थिए । सभामुख महराले तत्कालै कांग्रेसको मागका बारेमा आफूलाई जानकारी रहेको भन्दै गैरसंसदीय शब्दहरू हटाउन रुलिङ गरेका थिए ।















प्रतिक्रिया