५ कार्तिक २०८३, बिहिबार

असनको गुठीको घर व्यापारीहरूद्वारा कब्जा, अतिक्रमण हटाउन संस्थानद्वारा कारबाही शुरू

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । काठमाडौंको असनस्थित श्री ५ वायुदेवता गठीको घरजग्गा स्थानीयहरूले विभिन्न बहाना बनाएर छाड्न नमानेपछि गुठी संस्थानले सूचना जारी गरेर खाली गराउने प्रक्रिया अगाडि बढाएको छ ।

खाली गराएपछि सो स्थानमा नयाँ भवन बनाइनेछ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २५ असनस्थित रहेको कित्ता नम्बर १७६७ को क्षेत्रफल ०–८–०–३ को जग्गामा रहेको घर पसलहरूलाई हटाउन संस्थानले सूचना जारी गरेको हो ।

०७२ सालको भूकम्पबाट क्षति भएको सो घरमा पसलहरू भाडामा रहेका छन् । भूकम्पबाट क्षति भएको घरमा रातो स्टिकर टाँसिएको छ । तर, भाडामा बसेकाहरूले सटर तथा घर छाड्न मानेका छैनन् ।

गुठी संस्थानले वडा कार्यालय र स्थानीय प्रशासनको सहयोगमा सटर कब्जा गरेर बसेकाहरूलाई कानूनी प्रक्रियाअनुसार हटाउने तयारी थालिसकेको जनाएको छ ।

सो जग्गा र घर तथा सटरहरू कब्जा गर्न उनीहरूले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए । सर्वोच्च अदालतले पनि उनीहरूको विपक्षमा फैसला गर्दै गुठी संस्थानकै पक्षमा फैसला सुनाएको थियो ।

सर्वोच्चबाट पराजित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सबै निकायमा सटर भाडामा बसेर व्यवसायी गरिरहेकाहरूले उजुरी दिएका थिए । अख्तियारले उनीहरूको पक्षमा कुनै निर्णय गरेन । बरु गुठी संस्थानलाई नै भूकम्पबाट क्षति भएको घरलाई हटाएर ऐन नियमअनुसार अर्को भवन बनाउन निर्देशनहरू दिएको छ ।

गुठी संस्थानका उपप्रशासन एवम् प्रवक्ता सरोज थपलियाले असनमा रहेको गुठीको घरलाई भत्काएर अर्को भवन बनाउने बताए । त्यसका लागि कानूनी प्रक्रिया पुर्‍याएर टेण्डर समेत दिइएको उनले बताएका छन् । ‘सटर भाडामा लिएर व्यवसाय गर्दै आएकाहरूले अबरोध गरेका छन्’, उनले भने, ‘सहज रुपमा उहाँहरूले छाड्न भएन भने कानून अनुसार खाली गराउँछौँ । प्रक्रिया शुरू भइसकेको छ ।’

श्री ५ वायुदेवता गुठीमा बुद्धको मूर्ति देखाएर अबरोध गरिएको विषयमा सोधिएको प्रश्नको जवाफमा उपप्रशासक थपलियाले भने, ‘गुठी संस्थान भनेको पुरातत्वका मठमन्दिरहरू तथा घर जग्गा संरक्षण गर्न बनेको हो । यदि त्यहाँ कुनै पुरातत्व महत्वको कुनै मूर्ति छ भने प्रमाण पु¥याएर ल्याउँदा हुन्छ । होइन भने जग्गा र घर कब्जा गर्नकै लागि भाडामा बसेर व्यवसाय गर्दै आएकाहरूले राज्यको न्यायिक निकायबाट भएको आदेश र निर्णयला उल्लंघन गर्न पाइँदैन ।’

गुठी संस्थानको सो घरमा सटर भाडामा लिएर व्यवसाय गर्दै आएकाहरूले खाइपाइ आएको भाग खोसिने भएपछि विभिन्न बहाना बनाएर छाड्न अटेर गरिरहेका छन् ।

न्यायिक निकायहरूबाट पराजित भएपछि ती व्यवसायीहरूले राजनीतिक नेतृत्वदेखि हरेक शक्ति केन्द्रमा धाएर फाइदा लिन खोजेको आरोप छ ।

गुठी र सरकारी जग्गा कब्जा गरेका समाचार आइरहेका बेला असनको गुठीको घर जग्गा केही व्यापारीहरूले व्यावसायिक लाभका लागि खेलोफड्को गरेका छन् । ती व्यापारीहरूका कारण गुठी संस्थान र राज्यलाई करोडौँको घाटा लागिरहेको छ ।