
चितवन, बैशाख २४ । चितवनको राप्ती नगरपालिका–११ को सुरखण्डी चौघोडा क्षेत्रमा पहिलोपटक सडक पुगेको छ । प्रदेश नम्बर ३ सरकारले कृषि सडक मार्फत विनियोजन गरेको ५० लाख रुपैँयाले सडक निर्माण गरिएको हो ।
प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले निर्माण सम्पन्न हात्तीढाप–सुरखण्डी–चौघोडा कृषि सडकको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री लामा लामो समय बसोबास गरेको क्षेत्रमा पहिलोपटक सडक पुगेको हो ।
चार किलोमिटर लामो सडक निर्माणपछि स्थानीय खुसी भएका छन् । स्थानीयले मन्त्री लामालाई फूल मालाले स्वागत गरे । अनुगमन पश्चात मन्त्री लामाले सडक निर्माणको काम राम्रो भएको बताए ।
उनले भने, ‘आगामी दिनमा यो सडकलाई नाली सहितको उच्च स्तरिय ग्राभेल गर्ने योजना छ । यसले यहाँ उत्पादन भएका कृषिजन्य वस्तुहरुलाई बजारीकणका लागि सहयोग पुग्नेछ ।’
हात्तीढाप–चौघोडा क्षेत्रमा मकै, तोरी र मासको राम्रो उत्पादन हुने क्षेत्र हो । यो क्षेत्रमा व्यवसायीक बाख्रा पालन पनि हुने गरेको छ । किसानले उत्पादन गरेका वस्तु सहज रुपमा बजारसम्म पुर्याउन सडक सहयोगी बन्ने मन्त्री लामाले बताए ।
‘भौगोलिक विकटताका कारण पहडी क्षेत्रका नागरिकले धेरै दुःख भोगेका छन्’, उनले भने’, सडककै कारण एम्बुलेन्स आउन सक्ने अवस्था छ्रैन । मैले पनि कयौं पटक बिरामी बोकेर अस्पतालसम्म पुर्याएको छु ।’ मन्त्री लामाले यसबर्ष प्रदेशमा एकसय कृषि सडक निर्माणाधिन अवस्थामा रहेको बताए ।
हात्तीढाप सुरखण्डी चौघोडा कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रुपेश लामाले गाँउमा पहिलोपटक सडक निर्माण भएको भन्दै स्थानीय उत्साहित भएको बताए ।
यस्तै, मन्त्री लामाले आजै राप्तै नगरपालिका ११ कै आँपपानी–शैथली–आनेवाङ सडकको पनि निरीक्षण गरेका छन् ।












प्रतिक्रिया