
काठमाडौं, २० बैशाख । रिपोर्टर्स क्लब नेपालले प्रदान गर्ने वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका बरिष्ठ सहायक उप–सम्पादक राजेश मिश्र पुरस्कृत भएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालको काठमाडौंस्थित् केन्द्रीय कार्यालयमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मिश्रलाई सम्मान प्रदान गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र क्लबका सभापति ऋषि धमलाले संयुक्त रुपमा पुरस्कार तथा सम्मानपत्र मिश्रलाई प्रदान गरेका हुन् ।
क्लबले पुरस्कार आफ्नो स्थापनाको २१ औं वार्षिकोत्सवको अवसरमा चैत्र १७ गते दिने घोषणा गरेको थियो । तर, मिश्र विशेष कारणवश काठमाडौं उपत्यकाबाहिर गएकोले पुरस्कार आज प्रदान गरिएको हो ।
विगत दुई दशकदेखि व्यवसायिक पत्रकारितमा सक्रिय पत्रकार मिश्र सर्लाहीमा रहेर दश वर्ष र काठमाडौंमा विगत दश वर्षदेखि पत्रकारितामा क्रियाशिल छन् । मिश्रलाई प्रदान गरिएको पुरस्कारको राशी २५ हजार हो ।
कार्यक्रममा मन्त्री पण्डितले आफू र वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको विश्वास दिलाए । उनले भने, ‘प्रेस जगतपनि अब जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । प्रेस आफैमा अनुशासनमा बस्नुपर्छ । मर्यादित बन्नुपर्छ । राज्यको प्रगति र उन्नतिको दिशातर्फ अघि बढ्नको लागि प्रेस जगतले सकारात्मक पहलकदमी चाल्नुपर्छ ।’
त्यस्तै, पुरस्कार ग्रहणपछि संक्षिप्त सम्बोधन गर्दै पत्रकार मिश्रले आफूले जीवनमै पहिलो पटक आज पुरस्कार प्राप्त गरेको भन्दै जीवनभरि आजको दिन स्मरणमा आइरहने सुनाए ।
उनले भने, ‘मैले जीवनमा आफै निर्णय गरेर धेरैलाई पुरस्कार दिने अवसर पाएको थिएँ । तर, मैले आफैले पाएको यो पुरस्कार नै जीवनको पहिलो हो । म रिपोर्टर्स क्लब र यसका सभापति ऋषिजीप्रति आभारी छु ।’
विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसरमा आफूले पत्रकारिता पुरस्कार पाएको भन्दै आफ्नो लागि आजको दिन ऐतिहासिक भएको उनको प्रतिक्रिया छ ।












प्रतिक्रिया