१९ कार्तिक २०८३, बिहिबार

कर्णालीको विकासका लागि ६ महिनाभित्र गुरुयोजना बनाउँछौं : मुख्यमन्त्री शाही

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अबको ६ महिनाभित्र कर्णालीको विकासको लागि गुरुयोजना तयार पारिसक्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले पहिलो वर्ष तयारीमै बितेको स्पष्ट पारे ।

‘हाम्रो पहिलो वर्ष तयारी गर्नमै व्यतित भयो । हामीले प्रशासनिक संरचना तयार गर्यौं । समग्र विकासलाई अघि बढाउनको लागि जनशक्ति आवश्यक हुन्छ’, उनले भने, ‘त्यसतर्फ ध्यान दिँदै हामीले कमभन्दा कम जनशक्तिमा बढिभन्दा बढि काम लिने नीति अख्तियार गरेका छौं ।’

मूख्यमन्त्री शाहीले आफूहरु योग्य कर्मचारी नियुक्ती गर्ने तयारीमा जुटेको पनि जनाए । उनले भने, ‘जनशक्ति कम भर्ना गर्ने उद्देश्यले हामीले योग्य कर्मचारी नियुक्ती गर्नुपर्छ भनेका छौं ।’

पहिलो वर्ष कानुनहरु निर्माण गर्नुपर्ने भएकोले उक्त कामपनि सम्पन्न गरिसकेको उनले स्पष्ट पारे । बजेट कार्यान्वयनको सवालमा भने आफूहरुले लक्ष्य नभेटेको उनको भनाई छ । समग्र कर्णाली प्रदेशको विकास गर्नेगरि आफूहरुले गुरुयोजना बनाएको सुनाउँदै उनले भने, ‘बसोबास वैज्ञानिक छ कि छैन त्यो हेरेका छौं । सडक, विजुलीलगायतका अत्यन्तै महत्वपूर्ण पक्षहरुमा पनि हामीले ध्यान दिएका छौं । एकीकृत वस्ती विकास कार्यक्रम अघि बढाउनेछौं ।’

त्यस्तै गुरुयोजनाअन्तर्गत कुल कति सडक र पुलहरु निर्माण गर्नेलगायतका विषयमा पनि आफूहरुले ध्यान दिएको शाहीले स्पष्ट पारे । उत्पादनको क्षेत्रमा पनि विशेष ध्यान दिइएको उनको भनाई छ । उनले भने, ‘हर्बल, जुडिबुटी र जलस्रोतलगायतका पर्यटनका क्षेत्रमा पनि हामीले विशेष अध्ययन तथा अनुशन्धान गरेका छौं । अहिले हामी अध्ययनको सुरुवातमा छौं ।’

शाहीले संघीयता कार्यान्वयनको सवालमा पनि संघ, प्रदेश र स्थानीय तहबीच तालमेल नभएको जिकिर गरे । उनले भने, ‘तीन वटा सरकारबीच जसरी तालमेल तथा सहकार्य हुनुपर्दथ्यो, त्यो हुन नसकेकै हो । यो लुकाएर लुक्ने कुरा होइन । हामीले भर्खरै काठमाडौंमा सम्पन्न परिषदको बैठकमा सुझाएका छौं । संघले जसरी समन्वय गर्नुपर्दथ्यो, त्यसरी गर्न सकेन ।’

फरक प्रसंगमा उनले आज केन्द्रिय सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको सुनाउँदै यो नीति तथा कार्यक्रममा कसरी आफ्नो प्रदेशलाई समेट्छ त्यो भने हेर्न बाँकी रहेको सुनाए ।

उनले भने, ‘हाम्रो प्रदेशका जनताहरुमा हामीप्रति ठूलो अपेक्षा छ । कर्णाली प्रदेशले गरेको अपेक्षा संघले सम्बोधन गर्छ कि गर्दैन त्यो आजै थाहा हुन्छ ।’

कर्णाली प्रदेश अहिलेपनि अन्याय र उत्पीडनमा रहेको उनले सुनाए । आफूहरुले बजेटको विनियोजन गर्दा मावन विकास सूचांकलाई आधार बनाउनुपर्छ भनेर बारम्बार आवाज उठाइरहेको पनि मुख्यमन्त्री शाहीले सुनाए ।