आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

मुलुकी देवानी संहिता, फौजदारीसम्बन्धी ऐनका दफाले प्रेस स्वतन्त्रतालाई संकुचन बनायोः पत्रकार महासंघ

दैनिक नेपाल २०७६ वैशाख २० गते ६:५९

काठमाडौं, २० वैशाख । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् ।

पत्रकार महासंघले मे ३ अर्थात वैशाख २० विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । सोही अवसरमा आचार्यले शुभकामना दिएका हुन् ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ विविध कार्यक्रम तय गरिएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोको सहकार्यमा प्रेस स्वतन्त्रता राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।

यसैगरी पत्रकार महासंघका प्रदेश समिति र जिल्ला शाखाहरुको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र हाम्रो देशभित्रको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हनन्का घटनाको सार्वजनीकीकरण र स्वतन्त्रताको प्रतिरक्षा, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्ने तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्ने यो दिनको विशेष महत्व छ ।

‘यस अवसरमा म नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति जीवन वलिदान गर्नुहुने योद्धाहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस स्वतन्त्रताका पक्षमा अविराम संघर्ष गर्नुहुने सबै महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु’, अध्यक्ष आचार्यले भनेका छन् ।

उनले भनेका छन्, ‘नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भएतापनि विभिन्न ऐन तथा कानून मार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै चुनौती हो ।’

‘२०७५ भदौं १ गतेबाट लागू भएको मुलुकी देवानी (संहिता), फौजदारी (संहिता) सम्बन्धी ऐनका विभिन्न दफाले प्रेस स्वतन्त्रतालाई संकुचन पार्दछन् । यसमा महासंघसहित सरोकारवाला पक्षको राय सुझावका आधारमा सच्चाउने राज्यको प्रतिवद्धता अझै पूरा हुन सकेको छैन’, उनले भनेका छन्, ‘संघीय सरकारले संसदमा पेश गरेका, मस्यौदा गरेका एवम् प्रदेश सरकारले बनाएका सञ्चार सम्बन्धी विद्येयकहरुमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्चाउन महासंघले निरन्तर आवाज उठाँउदै आएको छ र केन्द्र तथा सातवटै प्रदेशका सरकारलाई नमूना कानूनको मस्यौदा बनाएर हस्तान्तरण गरिसकेको छ ।’

नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा अभिलेख भएका २०७५ सालभरिका प्रेस स्वतन्त्रता हनन्का ६० घटनामा ७७ जना पत्रकार र ५ सञ्चार संस्था पीडित भएका छन् ।

यी घटना मध्ये एक पत्रकारको हत्या र एक वेपत्ता छन् । मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको कार्यालयबाट घर फर्कदै गर्दा लागुऔषद्य दुव्र्यवसनीबाट हत्या भएको छ ।

त्यस्तै बाजुराका पत्रकार तेजन खड्का बाजुरास्थित बुढिनन्दा तिर्थस्थलबाट फर्कर्नेक्रममा वेपत्ता भएका छन् ।

यसबीच पत्रकार पक्राउका १२ वटा घटना र पत्रकारमाथि दुव्र्यवहारका १२ वटा घटना अभिलेख भएका छन् ।

त्यसैगरी पत्रकारमाथि धम्की १३ वटा, आक्रमण १५ वटा घटना रहेका छन् । समाचार संकलनमा अवरोधका २ वटा घटना भएका छन् भने समाचार प्रशारण अवरोधका ३ वटा भएका छन् । सञ्चार गृहमा लुटपाटको एउटा घटना अभिलेख भएको छ ।

गत वर्ष जस्तै यस वर्ष पनि राज्यबाट भएका प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा पत्रकारहरुलाई गिरफ्तार गर्ने घटनाहरु बढी देखिए । गत वर्ष निर्वाचनका बेला पत्रकारहरुलाई राजनीतिक आस्थाका आधारमा गिरफ्तार गरेका घटनाहरु बढी भएका थिए भने यस वर्ष समाचार लेखेको वा समाचार सम्प्रेसण गरेकै आधारमा गिरफ्तार गर्ने घटनाहरु भए । विद्युतीय कारोबार ऐन अन्तर्गत पत्रकारहरुलाई गिरफ्तार गर्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पार्ने काम धेरै भए ।

पत्रकारलाई गिरफ्तार गर्ने मात्र होइन अदालतको आदेशमा रिहा भएका पत्रकारलाई अदालत परिसरबाट बाहिर निस्कदै गर्दा पुनः गिरफ्तार गर्ने जस्ता प्रेस स्वतन्त्रता विरोधी शैली अभ्यास गरिएको अध्यक्ष आचार्यले बताएका छन् ।

यसैगरी आफ्नै कार्यकक्षमा काम गरिरहेका पत्रकारहरुलाई कार्यकक्षबाटै गिरफ्तार गर्ने क्रमले पनि थप चिन्ता जन्माएको छ ।

‘यस वर्ष पत्रकारहरुलाई सरकारी वा सार्वजनिक कार्यक्रमको रिपोर्टिङ गर्नबाट वञ्चित गर्ने घटनाहरु पनि भए, जसले स्वतन्त्र प्रेसको आधारभूत अवधारणामाथि नै आक्रमण भएको महासंघको निष्कर्ष छ’, उनले भनेका छन् ।

‘यसवर्षका घटनाहरुको अध्ययन गर्दा प्रेस स्वतनत्रता विरोधी कार्यमा संलग्नहरुमाथि कारवाही र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निर्माणमा पत्रकार महासंघले जोड दिनुपर्ने देखिन्छ’, आचार्यले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित