
काठमाडाैँ, १९ बैशाख । प्रदेश १ को नाम र राजधानीका प्रस्ताव पेश गर्ने समय आज सकिदैछ । यसका लागि नेकपाका प्रदेशका पार्टी पदाधिकारीको बैठक बसिरहेको छ।
विराटनगरको रोडशेषस्थित होटल बिगमा बसिरहेको बैठकमा पार्टीका प्रदेश इन्चार्ज भीम आचार्य, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष देभराज घिमिरे, मुख्यमन्त्री शेरधन राई र पार्टीका सचिव सुरेशकुमार राई सहभागी छन्। तर, पार्टीभित्रै मत नमिलेपछि नाम र राजधानीबारे निर्णयमा पुग्न नसकेको बताइन्छ ।
पार्टीले निर्णय गर्न नसक्दा यस विषयमा नेकपा संसदीय दलको बैठकसमेत बस्न सकेको छैन। प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव पेश गर्न सभामुख प्रदीपकुमार भण्डारीले बिहीबार अन्तिम समयसीमा दिएका छन् ।
सत्तारुढ दल नेकपाले बुधबार बिहानैदेखि प्रदेशका पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरुसँग विभिन्न चरणमा छलफल गरेको थियो। तर, अझै पनि कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी नेकपाका नेताहरूले बताएका छन् । नेकपाको पदाधिकारी बैठकपछि सबै दलहरुसँग बैठक आह्वान गरिएको छ।
संविधानले प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्ने व्यवस्था गरेको छ। प्रदेशसभामा नेकपा एक्लैको दुई तिहाइ मत रहेको छ ।












प्रतिक्रिया