
काठमाडौं, १८ वैशाख । काठमाडौं महानगरपालिका-२६ नर्सिङ चोकमा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चितवन भिमनगर नगरपालिका-४ बस्ने २५ वर्षीय सागर गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गुरुङले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकोले कारबाहीबाट बच्ने उद्देश्यले प्रहरीलाई १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनलाई उक्त रकम सहित प्रहरीले पक्राउ गरेको हो ।
यसैबीच, श्रमको कागजपत्र बनाउने काम छिटो गरिदिन्छु भनी नगद २५ हजार रुपैयाँ लिने २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं सोल्टीमोड बस्ने मकवानपुर हेटौंडा नगरपालिका घर भएका २२ वर्षीय सन्तोष गुरुङ र काठमाडौं कुलेश्वर घर भएका २२ वर्षीय बिशाल रिसाल रहेका छन् ।
उनीहरुले काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित श्रम तथा रोजगार कार्यालयमा बाँके सदुवा-३ घर भएका ४८ वर्षीय पुरूषलाई श्रमको कागजपत्र छिटो गरिदिन्छु भनेर नगद २५ हजार लिएको र काम नगरी ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।












प्रतिक्रिया