१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस नेता मिन विश्वकर्माले प्रधानमन्त्री ओलीलाई लगाए गम्भीर आरोप

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मिन विश्वकर्माले भ्रष्टाचार, कुशासन, हत्या, हिंसा, बलात्कार, असंवैधानिक कदमहरु अहिले छताछुल्ल भैरहेको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्बल नेपाले आयोजना गरेको सात्क्षात्कारमा उनले भने, ‘त्यही भएर जनताले अहिले काँग्रेसीहरु तिमीहरु कहाँ छौं ? भनेर आक्रोश पोखिरहेका छन् ।’

मुलुक नै सञ्चालन गरेको त्यो पनि अर्थमन्त्रीको जिम्मेवारी बहन गरिसकेको व्यक्ति विष्णु पौडेलले सबै सेटिङ मिलाएवापत बालुवाटार प्रकरणमा ८ आना जग्गा बकस पाएको विश्वकर्माको आरोप छ ।

उनले भने, ‘मैले सुनेको चाहिँ उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनु भएको हो । अनि कसको नाउमा राखौं भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राख्नुभएको हो अरे ।’

ललिता निवासलाई मोही कायम गर्न लाखौं/करोडौं खर्चिएका भूमाफियाहरुले विष्णु पौडेलको कारण आफूहरु फसेको गुनासो गरेको पनि उनले स्पष्ट पारे ।

विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको अर्को गम्भीर आरोप लगाए । उनले भने, ‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजी पनि सबै खानुभयो ।’

नैतिकताको आधारमा पनि विष्णु पौडेलले यो प्रकरणमा राजीनामा दिनुपर्ने उनको भनाई छ । उनले भने, ‘सरकारी जग्गा हडप्न किर्ते गर्नेहरु, गैरकानुनी ढंगले सरकारी जग्गाहरु कब्जा गर्ने सबैजना दण्ड, सजायको भागीदार हुनुपर्छ ।’ समाजको रोल मोडल भएकोले विष्णु पौडेललाई यो प्रकरणमा दोब्बर, तेब्बर र विशिष्ट ढंगको सजाय गर्नुपर्ने पनि विश्वकर्माले माग गरे ।

ललिता निवासको जग्गा प्रकरणमा वर्तमान सरकारले हिजोबाट एक्कासी आफ्नो तातो खरानी प्रतिपक्षी दलतर्फ फालेको पनि उनले आरोप लगाए । उनले भने, ‘यसभन्दा अघिपनि ३३ केजी सुन तस्करी प्रकरणमा अनुहार हेर्दा आफ्नै मान्छे परेपछि ओलीजीले बाजेको सेकुवा बन्द गराउनुभयो । यो सरकार अपराधीकरणलाई संरक्षण गर्नेतर्फ लागेको छ ।’

उनले यो जग्गा प्रकरणमा यदि कृष्णप्रसाद भट्टराईपनि दोषी भए मरणोपरान्त दण्ड, सजाय गर्नुपर्ने बताए । उनले भने, ‘किसुनजी, गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी वा शेरबहादुर देउवा जो हुन्, सबैको बारेमा गहिरो छानबिन गरियोस् ।’