५ कार्तिक २०८३, बिहिबार

अभिनेत्री श्वेता खड्काको शल्यक्रिया, तत्काल फिल्म खेल्न नसक्ने

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ बैशाख । अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि भारतमा शल्यक्रिया गराइएको छ । आफ्नो शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । तर, उनले अब आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा व्यक्त गरेकी छन् ।

‘म दुःखपूर्वक तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि अब म आफ्नो नयाँ चलचित्र हेल्लो जिन्दगीमा काम गर्न सक्षम हुनेछैन । यद्यपि, फेरि एक पटम म भयानक परिस्थितिलाई जितेर निस्किएकी छु’, श्वेताले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

उनी आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङका लागि लन्डन पुगेकी थिइन् । त्यहाँ केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी छन् ।

लन्डन जानुभन्दा केही दिन अगाडि पनि चिउँडो मुनिको भागमा दुखाई भएको उनले उल्लेख गरेकी छन् ।

‘डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताउनुभयो । तर, लन्डनमा फेरि समस्या दोहोरियो’, श्वेताले भनेकी छन्, ‘खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिनुभयो ।’

त्यसपछि श्वेतालाई लन्डनबाट तत्कालै नयाँ दिल्ली ल्याइएको थियो । त्यहाँ डा. सुरेन्द्र कुमार दवासले आफ्नो सफल शल्यक्रिया गरेको श्वेताले जानकारी दिएकी छन् ।

नेपालबाट गएका डा. पंकजले पनि उनको उपचारमा सहयोग गरेका थिए । श्वेताले उपचारमा संलग्न डाक्टर र बिएलके अस्पताललाई धन्यावाद दिएकी छन् ।