३१ आश्विन २०८३, शनिबार

श्रीलंकामा सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त, १९ जनाको मृत्यु

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १५ बैशाख । श्रीलंकाको पूर्वी सहर सैन्थामारुथुको एउटा घरमा सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ।

आतंककारीहरू लुकेर बसेको एउटा घरमा सेना तथा प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो। छापा मार्ने क्रममा भएको भिडन्तमा ४ जना मारिएको सेनाका प्रवक्ता सुमिथ अट्टापटुले सञ्चार माध्यमहरूलाई जानकारी दिएका छन्।

आतंककारीको घेरा तोडेर सुरक्षाकर्मी भित्र पस्न खोज्दा उनीहरूले घरभित्रै आत्मघाती बम विस्फोट गराएको सेनाले जनाएको छ। विस्फोटमा परी घरभित्र थप १५ जनाको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ। विस्फोटपछि पनि घरभित्र सेनाले थुप्रै विस्फोटक पदार्थ तथा आत्मघाती विस्फोट गर्न सहयोग पुग्ने ‘भेष्ट’हरू भेटेको थियो।

गत आइतबार श्रीलंकाका होटल तथा चर्चहरूमा भएका श्रृंखलाबद्ध विस्फोटमा परी २५० भन्दा बढीको ज्यान गएको थियो। आक्रमणको अन्तर्राष्ट्रिय आतंककारी संगठन आइएसले जिम्मा लिएको थियो।

आइएसको सहयोग र दुई स्थानीय संगठनको संलग्ननतामा उक्त विस्फोट गराइएको श्रीलंका सुरक्षा अधिकारीहरूले जनाएका छन्। ती दुवै संगठनमाथि श्रीलंकाले प्रतिबन्ध लगाइसकेको छ।

अहिले थप आतकंकारीको खोजीमा सुरक्षा फौजले देशैभर खानतलासलाई तीव्र बनाएको छ। आतंकारीहरू अझै लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ। देशभर नै संकटकाल घोषणा गरेर कर्फ्यू जारी गरिएको छ।

राष्ट्रपति मैत्रिपाला सिरीसेनाले देशैभर हरेक घर खानतलासी गरिने र अबदेखि प्रत्येक घरमा बस्ने मानिसहरुको अभिलेख राखिने बताएका छन् । -एजेन्सीको सहयोगमा