१९ कार्तिक २०८३, बिहिबार

भूकम्प आइसकेपछि दाताहरुसँग सहयोगको याचना गर्ने होइन : चिरीबाबु महर्जन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर÷१२ बैशाख । ‘भूकम्पले कसैको ज्यान लिदैन, कमजोर संरचना भत्किंदा ज्यान जाने हो’ भन्ने नारा सहित ललितपुर महानगरपालिकाले चौथो भूकम्प स्मृति दिवस मनाएको छ । गोरखा भूकम्प २०७२ को सम्झनामा विहिबार महानगरपालिकाले स्मृतिसभा आयोजना गरेको हो ।

ललितपुर महानगरको वडा नं. ८ गुइटोलमा रहेको गुइत दोमार विपद व्यवस्थापन केन्द्रमा आयोजित कार्यक्रममा नेपाल र जापानको विपद व्यवस्थापन सम्बन्धि अनुभवहरुको आदानप्रदान समेत गरिएको छ ।

चौथो भूकम्प स्मृतिसभालाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने, ‘प्रत्येक पुस्ताले एउटा ठूलो भूकम्पको जोखिम व्यहोर्नु परेको छ, तसर्थ यसको जोखिम न्यूनिकरणका लागि समयमै सजकता र सावधानी अपनाउन हाम्रो संरचना राम्रो बनाउँ भन्ने ललितपुर महानगरको सुझाव छ ।’

मेयर महर्जनले विपद व्यवस्थापन सम्बन्धि जापानी अनुभव र जापानले अवलम्बन गरेका राम्रा पक्षहरुलाई अनुशरण गर्दै ललितपुर महानगरपालिकाले विपद व्यवस्थापनका लागि आवश्यक कार्यहरु गर्ने वताए।

ललितपुर महानगरका मेयर महर्जनले भने, ‘भूकम्प आइसकेपछि दाताहरुसँग सहयोगको याचना गर्ने होइन, अहिलेदेखि नै त्यसका लागि अक्षय कोषको व्यवस्था गरेर आपत पर्दा त्यहीबाट उपयोग गर्ने नीति अवलम्बन गर्नु पर्छ ।’

ललितपुर महानगरपालिकाले प्रत्येक वडामा विपद व्यवस्थापनका लागि अक्षय कोष खडा गर्नका लागि सुरुवात गरेको पनि मेयर महर्जनले बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले नेपाल हरेक कुराबाट जोखिममा रहेको वताए । भुषालले भने, ‘नेपाल हरेक कुराबाट जोखिममा छ, तसर्थ सचेतना र जागरणका कार्यक्रमहरु अगाडि वढाएर जोखिमको क्षति न्यूनिकरणमा लाग्नुपर्छ ।’

त्यसैगरी, ज्यापू समाजका अध्यक्ष एवं पूर्वसभासद चन्द्र महर्जनले विपद व्यवस्थापनका लागि भण्डारण गरी राखिएका सामाग्रीहरु त्यस समयमा सहज रुपमा प्रयोग गर्न सक्ने वातावरण वनाउनुपर्ने बताए ।

कार्यक्रममा जापानका हिगाशी मात्सुशिमा शहरका डेयुटी मेयर शु ओयामा र जाइका नेपालका वरिष्ठ प्रतिनिधि डा. कोजो नगामीले विपद व्यवस्थापन सम्बन्धि जापानी अनुभवहरु प्रस्तुत गरेका थिए ।