
काठमाडौं, ९ बैशाख । प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न माग गरेका छन् ।
‘अहिले उखु किसानहरु ठूलो मारमा छन् । सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेका छन्’, उनले भने, ‘उनीहरुलाई तत्काल सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकहरुले ३० प्रतिशत अनुदान दिनुपर्छ ।’
सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै त्रिपाठीले चिनी मिलहरु डेढ महिना ढिलो चलेको र अहिले केही मिलहरु बन्द भएको बताए ।
‘यसको प्रत्यक्ष असर उखु किसानहरुलाई परेको छ । सर्लाहीमा २ र नवलपरासीमा एउटा मिल बन्द भएको छ । नवलपरासीमा मात्रै झण्डै तीन लाख क्विन्टल उखु खेतमै छ । उता सर्लाहीमा पनि चार लाख क्विन्टल जति उखु खेतमै छ’, उनले भने ।
सरकारको अकर्मण्यताका कारण उखु किसानहरुले खेतमै उखु आगो लगाउनुपर्ने अवस्था सिर्जना भएको पनि उनको आरोप छ । किसानलाई समयमै भुक्तानी नदिने र चिनीको भाउ मनोमानी ढंगले वृद्धि गर्ने काम हुँदापनि सरकारले केही गर्न नसकेको उनको आक्रोश छ ।












प्रतिक्रिया