काठमाडौं, ९ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्र समेत रहेको चितवन जिल्लालाई ‘सोलिट’ बनाएका छन् ।
नेकपाका शीर्ष नेताहरूले आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्लामा आफू निकटका अध्यक्ष र सचिव बनाउने क्रममा दाहालले पनि भविष्यमा सजिलो हुने गरी चितवनमा माओवादी पृष्ठभूमि भएका नेतालाई अध्यक्ष बनाएका हुन् ।
स्रोतका अनुसार दाहालले चितवनको अध्यक्षमा पूर्वमाओवादी पृष्ठभूमि भएका यमबहादुर परियारलाई जिम्मेवारी दिएका छन् । परियार दाहालका खास व्यक्ति हुन् ।
सचिव भने पूर्वएमाले पृष्ठभूमि भएका कृष्णभक्त पोखरेललाई दिइएको छ । पोखरेललाई जिम्मेवारी दिँदा भविष्यमा असहयोग हुने आशंका गरेका दाहालले आफू निकटका व्यक्ति परियारलाई अध्यक्ष बनाएर पोखरेलबाट रिस्क लिएनन् ।
यसअघि जिल्ला सचिवमा एमालेका पूर्वउपाध्यक्ष तेजेन्द्रबहादुर खड्काको नाम आएको थियो ।
पूर्वअध्यक्षलाई नै सचिवमा ल्याउने भनेपछि पूर्वएमालेले पोखरेलको नाम अगाडि बढाएको स्रोतले जनाएको छ ।
नेकपाका दोस्रो अध्यक्ष दाहालको गृहजिल्ला भएकाले पनि चितवनको अध्यक्ष र सचिव को–को भए भनेर कार्यकर्ताले चासो देखाएका छन् ।
चितवनलाई पछिल्लो समय महत्व दिँदै आएका दाहालले आफ्नी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाएका छन् । नेपाली कांग्रेसको सहयोग लिएर दाहालले छोरी रेणुलाई मेयर बनाएका हुन् ।
बुबाको राजनीतिक दवावमा भरतपुर महानगरपालिकामा बजेट ओइरिए पनि रेणुले काम गर्न नसकेको भनेर आरोप लाग्दै आएको छ । छोरीको राजनीतिलाई सहज रुपमा अगाडि बढाउन पनि नेकपाका दोस्रो अध्यक्ष दाहालले आफू निकटका परियारलाई अध्यक्ष बनाएको चर्चा छ ।
पूर्वएमाले पृष्ठभूमि भएका पोखरेल मिजासिला र चितवनमा कांग्रेसले समते रुचाइएका नेतामा पर्छन् । पोखरेलको लोकप्रियताबाट दोस्रो अध्यक्ष दाहाललाई तनाब भएको हुन सक्ने धेरैको भनाइ छ ।
नेकपाको आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको थियो ।















प्रतिक्रिया