
काठमाडौं, ५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूहरुले अघि सारेका २२ सुत्रीय मागबारे सरकार गम्भिर नभएको आरोप लगाएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘हामीले उठाएका मागबारे सरकार गम्भिर भएन । हामीले फागुन मसान्तभित्र हाम्रा माग सम्बोधन गर्न आग्रह गरेका थियौं । तर, सरकारले अहिलेसम्म हाम्रा मागलाई सकारात्मक रुपमा लिनु त परैको कुरा भयो, पूर्ण रुपमा उपेक्षा गरेको छ ।’
अध्यक्ष थापाले सरकारले आफूहरुको मागलाई उपेक्षा गरेकै कारण जनदबाब सिर्जना गर्न बाध्य भएको स्पष्ट पारे । उनले भने, ‘हालै हामीले सशक्त जनदबाब सिर्जना गर्ने उद्देश्यले गरेको मेची–महाकाली यात्रा भव्यताका साथ सम्पन्न गर्यौं ।’
संघर्षका कार्यक्रम अझै जारी रहेको सुनाउँदै थापाले भोलि बैशाख ०६ गते देशैभरि व्यापक जनसहभागितामा धर्मनिरपेक्षता लेखिएको प्ले–कार्ड र ब्यानर जलाउने कार्यक्रम रहेको सुनाए ।
धर्मनिरपेक्षतालाई तत्काल खारेजी गर्नुपर्ने सन्देश दिनको लागि भोलिको कार्यक्रम सांकेतिक कार्यक्रम हुने उनको स्पष्टोक्ति थियो । उनले आफूहरुले कानून र संविधान उल्लंघन नगरेको पनि स्पष्ट पारे । थापाले संविधानका कतिपय प्रावधानहरुमा अहिलेपनि आफ्नो पार्टीको असहमति रहेको सुनाए ।
धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको विरोध गर्नु भनेको संविधानका विरोध नभएको पनि उनले स्पष्ट पारे । उनले भने, ‘विरोध गर्नपनि वैचारिक स्वतन्त्रता छ, तर, हामीले संविधानलाई नै अस्विकार गरेको वा विरोध गरेका छैनौं ।’ नेपालमा धर्मनिरपेक्षता बाह्य शक्तिको दबाब, प्रभाव र आर्थिक प्रलोभनको आधारमा आएको उनको गम्भिर आरोप छ ।












प्रतिक्रिया