
काठमाडौं, ४ बैशाख । हिसानका अध्यक्ष रमेश सिलवालले भर्ना अभियानलाई प्रभावकारी बनाउनेतर्फ सरकार, विद्यालय सञ्चालक र अभिभावकहरु लाग्नुपर्ने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै सिलवालले विद्यालय भर्ना अभियान धेरै वर्षदेखि चलिरहेकोले यसलाई मौसमी अभियान बनाउन नहुने स्पष्ट पारे । उनले भने, ‘यसबारेमा राज्यले खासगरी स्थानीय निकायले धेरै ध्यान दिनुपर्छ ।’ भर्ना अभियानलाई सबैले अपनत्व लिनुपर्ने उनको भनाई छ ।
कतिपयले निजी विद्यालयले अभिभावकलाई लुटिरहेको भन्ने आरोप लगाएको सुनाउँदै उनले प्रश्न गरे,‘लुटेराको स्कुलमा विद्यार्थी नपढाऔं । तपाईहरु लुटेर भन्नुहुन्छ अनि त्यही स्कुलमा लगेर विद्यार्थी भर्ना गर्न मरिहत्ते गर्नुहुन्छ ।’
राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय भर्ना अभियान लामो समयदेखि चल्दै आएपनि अहिलेसम्म प्रभावकारी बनाउन नसकिएको आरोप लगाएका छन् । विद्यालय भर्ना भएकाहरुलाई टिकाउनको लागि पनि अभियान चलाउनुपर्ने उनको तर्क छ ।
सापकोटाले शिक्षालाई खण्डीकरण गर्न नहुने धारणा राखेका छन् । उनले भने, ‘शिक्षालय निजी वा सार्वजनिक हुनसक्छन् । तर, शिक्षा निजी हुँदैन् । त्यसैले शिक्षालाई खण्डीकरण नगरौं ।’
नेपाल अभिभावक महासंघका केन्द्रिय संयोजक सुप्रभात भण्डारीले विद्यालय भर्नासँगै भर्ना भएकाहरुलाई कसरी टिकाउने भन्नेतर्फ राज्य लाग्नुपर्ने बताए । उनले शुल्क बढाउँदा वैज्ञानिक तवरले बढाउनुपर्नेमा जोड दिए ।
शुल्क वृद्धिको नाममा अभिभावकको ढाड सेकाउने काम र शोषण गर्ने काम गर्न नहुने उनको भनाई छ ।
शिक्षा नीति बलियो बनाउने खालको हुनुपर्ने पनि उनको धारणा छ । उनले भने, ‘शिक्षा क्षेत्रमा देखिएका सबै खाले विकृति र विसंगतिहरु रोक्नुपर्छ ।’












प्रतिक्रिया