सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

भिजिट भिसाको कालो कथा : विदेशी क्लवमा नेपाली युवतीका यौनकर्म !

दैनिक नेपाल २०७६ वैशाख ३ गते ९:४९

काठमाडौं, ३ वैशाख । विदा मनाउन या घुम्नका लागि छोटो अवधिका लागि दिइने भिजिट भिसाको दुरुपयोग गर्दै कतिपय नेपाली युवतीले यौन कर्मलाई अँगालेका विवरणहरू सतहमा आउन थालेका छन् ।

नेपालमा कम आम्दानी हुने र बेरोजगार युवती तथा छोटो समयमा लखपति हुने महत्वकांक्षा बोकेका युवतीले यस्तो बाटो अँगालेको पाइन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अथवा भारतको नयाँ दिल्ली हुँदै यसरी नेपाली युवती अफ्रिका, युरोप, खाडी र मलेसीयासम्मका क्लवमा पुग्ने गरेका छन् ।

पर्यटकीय केन्द्र बन्न थालेका संयुक्त अरब इमिरेट्स (युएइ), कतार र मलेसीयाका लागि भने नेपाली भूमी प्रयोग गरेर युवतीहरू डान्सबार र क्लवहरूमा पुग्छन् । उनीहरूसँग तीन महिनाको भिजिट भिसा हुने गरेको छ ।

यस अलावामा थाइल्यान्ड र भारतमा पनि नेपाली युवती पुग्ने गरेका छन् ।

हालै मात्र अफ्रिकी मुलुक केन्याबाट १२ नेपाली युवतीलाई डान्सबारबाट नियन्त्रणमा लिएपछि भिजिट भिसाको दुरुपयोग गरी त्यहाँसम्म पुगेको खुलेको छ । उनीहरू यौन कर्मका लागि कसरी आइपुगे भन्ने केन्या प्रहरीले छानबिन गरिरहेको छ ।

कसरी पुग्छन् विदेशी क्लवसम्म ?

खासगरी नेपाली क्लव र डान्सबारमा काम  गर्ने युवती नै विदेशी क्लवसम्म पुग्ने गरेका छन् । उनीहरू नेपालमा राम्रो आम्दानी नभएपछि विदेशी क्लवसम्म पुग्ने प्रलोभनमा पर्छन् ।

नेपालका पाँचतारे होटलमा रहेका क्यासिनो क्लवहरूमा नाच्ने र मनोरञ्जन प्रदान गर्नेहरू यसरी विदेशसम्म पुग्नेको संख्यामा बढी हुन्छन् ।

खासगरी क्यासिनोमा आउने विदेशी जुवाडे र दलालको प्रस्तावको प्रलोभनमा परी नेपाली युवती विदेशी क्लवमा नाङ्गो नाच र यौनकर्मसम् मगर्न तयार हुन्छन् । उनीहरूका लागि खर्चको व्यवस्था तिनै दलाल र विचौलियाहरूले गरेका हुन्छन् ।

कतिपय प्रभावमा पर्छन् भने कतिपय रहरले पनि पुगेका हुन्छन् । एक प्रहरी अधिकारी भन्छन्,‘केही घटना र नेपालमा उद्दार गरी ल्याएका युवतीहरूले लोभका कारण त्यसरी पुग्ने गरेको बताएका छन् ।’

छोटो अवधिका लागि नेपाल सरकारले स्वीकृति दिएको भिजिट भिसाको दुरुपयोग गरी यस्तो काम हुने गरेको खुलेको हो ।

धेरै युवतीहरूले छोटो समयमा नै धेरै आम्दानी गर्ने रहरमा डान्सबार र रेष्टुरेन्टमा डान्सर बन्ने निधो गर्छन् । डान्ससँगै यौन व्यावसाय पनि गर्नुपर्छ भन्ने उनीहरूलाई जानकारी हुन्छ ।

दलालसँग सबै प्रकारका सहमतिका आधारमा भारतको विमानस्थलसम्म पुगेर सम्बन्धीत मुलुक पनि पुग्छन् । त्यहाँ काम गरी केही रकम आर्जन पनि हुन्छ । तर, जब पक्राउ पर्छन् अनि फँसेको र झुक्किएको भन्ने आरोप लगाउने गरेको पनि बताइन्छ ।

कम्तिमा मासिक दुई लाखभन्दा ज्यादा कमाई हुने देखेपछि युवती प्रलोभनमा पर्छन् । कतिपय मुलुकमा भने तीन महिनाको अवधिमा लाखौं कमाई समेत हुने गरेको पाइन्छ ।

यसरी विदेशमा रहेका क्लवमा नेपाली युवती लैजाने गिरोह नै सञ्चालन गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही पनि चलाएको थियो ।

केही बर्ष अघि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले राजेन्द्र सुवेदीको एउटा गिरोह सक्रिय रहेको पत्ता लगाएको थियो ।  सय जना भन्दा बढी युवतीलाई केन्याको डान्सबार र क्लवसम्म पुराएको सुवेदीलाई पक्राउ गरी बयानमा खुलाइएको थियो ।

यी प्रकरणमा पनि भिजिट भिसाको दुरुपयोग भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित