सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

प्रबल जनसेवा श्री चौथोबाट पाण्डे विभूषित

दैनिक नेपाल २०७६ वैशाख १ गते १२:५७

काठमाडौं, १ वैशाख । ‘भाग्यले बाँचेकाहरू’ जस्तो वृत्तचित्र बनाएर संसारभर ख्याती कमाएका पत्रकार तथा फिल्म निर्देशक गणेश पाण्डेलाई नेपाल सरकारले प्रबल जनसेवा श्री चौथोबाट विभूषित गरेको छ ।

३ असोज, संविधान दिवसका दिन घोषणा गरेको उक्त पदक नयाँ बर्षका दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा आयोजित कार्यक्रममा पाण्डेलाई विभूषित गरिएको हो ।

पाण्डेसहित विभिन्न क्षेत्रमा योगदान गरेका अन्यलाई पनि विभूषित गरिएको थियो ।

नेपाल सरकारको गौरब एवम् नेपाली जनताको हित अभिबृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै सरकारले विभूषित गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले हस्ताक्षर रहेको विभूषणपत्रमा मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपालीको श्रीबृद्धिमा थप सफलता मिलोस भन्ने उल्लेख गरिएको छ ।

पाण्डेले १२ वैशाख, ०७२ को महाभूकम्पमा जोखिमले ज्यान बाँचेकाहरूको जीवनीलाई क्यामेरामा उतार्दै संसारभर नेपालको अवस्थाका बारेमा ‘भाग्यले बाँचेकाहरू’मार्फत चिनाएका थिए ।

दैनिक नेपालका संस्थापक पाण्डेलाई सोही बृत्तचित्रका लागि बेलायतको संसदले सम्मान गरेको थियो भने अमेरिकी सरकारले पनि उनको कामको प्रशंशा गर्दै सम्मान गरेको थियो ।

उक्त वृत्तचित्रका लागि लागि युरोपसहितका १७ देशले पाण्डेलाई अवार्ड दिइसकेका छन् ।

पाण्डेले नेपाल सरकारले काम र मिहेनतको मुल्यांकन गरी दिएको पदकको गरिमा राख्नका लागि अझै मिहेन जारी राख्ने बताएका छन् । उनले नेपाल सरकारले आफूमाथि राखेको विश्वास र भरोसलाई अझ मजबुद बनाउँदै मुलुकको हित हुने, समुदायको खास मुद्दामा कलम चलाउनुका साथै क्यामेरा पनि चलाउने बताए ।

प्रतिक्रिया
सम्बन्धित