५ कार्तिक २०८३, बिहिबार

ललितपुरबाट प्रधानमन्त्रीलाई चुनौती, सिडिओ–एसएसपी–मेयरद्वारा तस्करलाई संरक्षण

88.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २६ चैत । दक्षिणी ललितपुरको लेले, टीकाभैरव र देवीचौर क्षेत्रका वन क्षेत्रमा प्रहरीको संरक्षणमा स्काभेटर र ब्रेकर प्रयोग गरी ढुंगा उत्खनन् गर्ने काम तीव्र गतिमा भइरहेको स्थानीयले गुनासो गरेका छन् ।

तस्करहरूको गिरोहले प्रहरी प्रशासनदेखि जनप्रतिनिधिलाई सेटिङ गरी वन क्षेत्रमा ढुंगाखानी संचालन गरेपछि सो क्षेत्रका प्रभावित स्थानीयको जनजीवन संकटमा पर्दै गएको छ ।

अवैध ढंगले गरेको ढुंगा निकासीका कारण ललितपुरको दक्षिणी भेगको वन क्षेत्र अतिक्रमणको चपेटामा परेको स्थानीयको भनाइ छ ।

अबैध ढुंगा निकासीले पाँच हजार रोपनीभन्दा बढी वन क्षेत्रको जग्गा मासिएको नाम उल्लेख नगर्ने सर्तमा एकजना स्थानीयले दैनिकले नेपालसँग गुनासो गरे । ‘ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रहरी प्रमुख रविन्द्र धानुक, जिल्ला समन्वय समितिका संयोजक (कांग्रेस) अमर खड्का, चापागाउँ प्रहरी वृत्तका डिएसपी राजकुमार खइजु, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन (कांग्रेस) कै संरक्षण ढुंगा तस्करहरूलाई छ’, ती स्थानीयले भने, ‘ललितपुरका प्रहरी प्रमुख एसएसपी धानुकबाटै अबैध उत्खनन् गर्ने तस्करहरूलाई संरक्षण भएको छ ।’

हेभी इक्युपमेन्ट प्रयोग गरी ढुंगा उत्खनन् गर्दा पानीको मुहान नै सुक्दै गएका छन् । स्थानीयले पिउने पानीको मुहान सुक्ने अवस्थामा पुगेपछि कहाँ गुनासो गर्ने भनेर अलमलमा परेका छन् । ललितपुर प्रहरीले अबैध ढुंगा उत्खनन् गर्ने तस्करहरूलाई नै संरक्षण गरेपछि स्थानीय प्रशासन र प्रहरीमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

प्रधानमन्त्री केपी ओलीले जनतालाई सुशासन दिने भनेर कडा निर्देशन दिँदै आएका छन् । तर, उपत्यकाभित्रै अवैध रुपमा ढुंगाखानी उत्खनन् हुने गरेको र तस्करहरूलाई प्रशासन र प्रहरीले नै संरक्षण गरेपछि सरकारमाथि ठूलो प्रश्न उब्जिएको छ ।

ललितपुरको दक्षिणी भेगका सर्वसाधारणले वर्तमान सरकारबाट पनि आफूहरूको भरोसा उठ्न थालेको गुनासो गर्न थालेका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जोशी नेकपा समर्थक हुन् । प्रहरी प्रमुख एसएसपी धानुक गृहमन्त्री थापाले रुचाएर ल्याइएका हुन् । गोदावरी नगरपालिकाका मेयर महर्जन नेपाली कांग्रेस निकटका छन् । अवैध कमाइ हुने भएपछि यी सबैको कुरा मिलेको छ ।

दर्ता नै नरहेको ललितपुर क्रसर व्यवसायी संघका अध्यक्ष सुदर्शन विष्टले नख्खु करिडोर खोलामा आफ्ना लठैतहरूलाई राखेर एउटा टिप्परबाट एक हजार रुपियाँ उठाउँछन् ।

टिप्परबाट उठेको पैसा अध्यक्ष विष्टले प्रत्येक महिना ललितपुरका प्रमुख जिल्ला अधिकारी जोशीलाई तीन लाख, प्रहरी प्रमुख धानुकलाई तीन लाख, जिल्ला समन्वय समितिका संयोजक खड्कालाई दुई लाख, गोदावरी नगरपालिकाका मेयर महर्जनलाई दुई लाख, चापागाउँ प्रहरी वृत्तका प्रमुख डिएसपी राजकुमार खइँजुलाई दुई लाख मासिक रुपमा बुझाउँदै आएको एकजना टिप्पर व्यवसायीले जानकारी दिए । नख्खु करिडोरमा पैसा उठाउनकै लागि अध्यक्ष विष्टले राजभाइ देशार, बाबुकाजी महर्जन, अमन महर्जन, पर्शुराम महर्जनलगायतका युवालाई परिचालन गरेका छन् ।

गोदावरी नगरपालिकाका वडाध्यक्षमध्ये धेरैको क्रसर उद्योग छ । मासिक करीव २५ लाख रुपियाँ क्रसरवालाहरूसँग प्रहरी मिलाउनकै लागि संकलन गरी विष्टले ठाउँ ठाउँमा पु¥याउने गरेको स्रोतको भनाइ छ ।

ललिपुरमा अवैध ढुंगा उत्खननबाट वन क्षेत्रको यो अवस्था बनाइएको छ । यसको जिम्मेवारी कसले लिने ?

अध्यक्ष विष्टले आफ्नो आर्थिक हैसियत उच्च बनाएका छन् । विष्टले महँगा लक्जरी गाडी चढ्छन् । विष्टले राजधानी उपत्यकाभित्र एक अर्बभन्दा धेरै सम्पत्ति जोडेको उनका एकजना साथीले जानकारी दिए । हैसियतभन्दा छिटो सम्पत्ति जोडेपछि सम्पत्ति सुद्धीकरणले विष्टमाथि निगरानी शुरु गरेको स्रोतले जनाएको छ ।

लेले, टीकाभैरव, देवीचौर, क्षेत्रका वनमा हरेक दिन दर्जनौं स्काभेटर र भ्रेकर (भाइब्रेसनका मद्दतले ठूल्ठूला ढुङ्गा फोर्ने मेसिन) को प्रयोग गरी ढुङ्गा उत्खनन् गर्न कार्य हुँदा पनि जनप्रतिनिधि मौन बस्नुको घुसकै कारण भएको स्थानीयको भनाइ छ ।

डिएसपी राजकुमार खइँजु

यी क्षेत्रको वनमा ढुंगा उत्खनन् गर्नेमा मुख्य हात गोदावरी नगरपालिका–६ का वडाध्यक्ष विष्णुमान महर्जनको छ । उनीसँगै स्थानीय व्यापारी मधुसुदन डोटेलको पनि संलग्नता छ ।

गोदावरी नगरपालिकाले १ वर्षअघि ललितपुरको दक्षिणी भेगमा मापदण्ड विपरीत करीब ५२ वटा क्रसर सञ्चालनको अनुमति दिएको थियो ।

ढुंगाको अवैध निकासी थालिएसँगै टीकाभैरव र देवीचौर क्षेत्रका वनको क्षेत्रफल घट्न थालेको छ ।

दुई वर्षअघि संसदको प्राकृतिक स्रोत साधन समितिले समेत यस ठाउँमा वातावरणीय प्रभाव, वन विनास, धूलो धुवाँ लगायतका प्रदुषण, स्थानीयको कष्टकर जनजीवनलाई हेरेर खानी तथा क्रसर सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाएको थियो ।

खानी विभागसँग समन्वय गरेर मात्र खानी सञ्चालन गर्न दिनुपर्ने कानूनी व्यवस्था छ । गोदावरी नगरपालिकाले खानी विभागसँग समन्वय नै नगरी उद्योग सञ्चालनको अनुमति दिएको छ ।

गोदावरी नगरपालिकाका प्रमुखदेखि वडाध्यक्षसम्मको क्रसर र खानीमा लगानी छ । स्रोतका अनुसार वडा नम्बर–८ का वडाध्यक्ष सुकबहादुर लामा, ६ का विष्णुमान महर्जनको क्रसर उद्योग छ । कसैका ट्रिपरहरू छन् ।

नगरपालिकाको वडा नम्बर–८ डुकुछापका वडाध्यक्ष शुकबहादुर लामाले सयौं रोपनी सरकारी जग्गा अतिक्रमण गर्दा पनि उनीमाथि केही कारबाही हुन सकेको छैन । वडाध्यक्षले नै सरकारी जग्गा अतिक्रमण गर्दा पनि नगरपालिका मौन देखिएको छ ।