
घोराही, १५ चैत । लाखौँ रुपैयाँ ठगी र जबर्जस्ती करणी गरेको अभियोगमा दाङमा एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका महेश भनिने भुवन धिताललाई ठगी र जवरजस्तीकरणी गरेको भन्ने पीडितहरुको जाहेरीका आधारमा विभिन्न कागजात सहित पक्राउ गरि बिहीबार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
पीडितहरुको सामुहिक जाहेरी र जवरजस्ती करणीमा ३ जना महिलाबाट छुट्टा–छुट्टै निवेदन परेपछि प्रहरीले धिताललाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका धितालको साथबाट ८२ थान चेक, १ करोड ६९ लाखको चेक रकम, २ वटा खाली चेक, ३२ वटा तमसुक, १ करोड २४ लाखको तमसुक रकम, ४ वटा ढुकुटी खेलाएको रजिष्टर बरामद गरेको प्रहरीको भनाई छ ।
त्यसैगरी, ४ वटा खाली तमसुक, एक थान जलजला अनलाइनको पत्रकार परिचय पत्र, २ थान मोवाइल, १८ हजार ५ सय नगद, २ वटा सुनको औठी, १ थान ब्रासलेट, एक थान घडीसहित बा १५ च ७६६८ नम्बरको फोर्ड गाडी र भे ८ प ३९५५ नम्बरको होण्डा स्कुटी समेत बरामद गरी प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ परेका धितालले शैक्षिकस्तर कमजोर भएका, एकल, श्रीमान विदेश गएका महिला समूहमा बसेर पैसा उठाउने र लगानी ग¥यो भने राम्रो कमाई हुन्छ भनि सुरुमा ढुकुटी खेलाउँदै व्यक्ति ठगीमा अग्रसर भएको प्रहरी अनुसन्धानले देखिएको छ ।

साथै आफू पत्रकार भएको, प्रहरीका हाकिमहरुसँग राम्रो सम्बन्ध भएको, बेइज्जत गर्न सक्छु भन्ने, पत्रपत्रिकामा छपाइदिन्छु भनि डर देखाएर ३६ प्रतिशत सम्म ब्याज असुल गर्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र विभिन्न बहानामा यौन शोषण समेत गरेको प्रहरीमा उजुरी परेको प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
पक्राउ परेका धिताललाई दाङबाट भाग्ने क्रममा दाङ र बाँकेको सिमानाबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीले धितालमाथि अनुसन्धान गर्न दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिनेमा म्याद थप गरेको जनाएको छ भने थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभागलाई समेत पठाउने जनाएको छ ।
सागर वलीले सञ्चालन गरेको जयविर मिडिया प्रालिद्वारा संचालित जलजला खबर डटकममा काम गर्नेका पत्रकार भुवन धिताललाई प्रहरीले पक्राउ गरेको हो ।












प्रतिक्रिया