
काठमाडाैँ, १२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध ७८ लाख विगो दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
विशेष अदालतमा बुझाइएको अभियोगपत्रमा घूस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको छ।
अभियोगपत्रमा पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरिएको छ। भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घूस लिने व्यक्तिलाई बिगो बमोजिम जरिवाना हुने उल्लेख छ । उक्त दफामा ५० लाखदेखि १ करोडसम्म घूस लिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने भनिएको छ।
सोही ऐनको दफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घूस लिएको पुष्टि भए यी दुवै सजाय हुने भनिएको छ। यो घूस प्रकण प्रमाणित भए पाठकको हकमा दुवै व्यवस्था आकर्षित हुन्छन् ।
दुवै व्यवस्थाअनुसार उनलाइ ९ देखि १२ वर्षसम्म कैद हुनेछ। अख्तियारले दर्ता गरेको अभियोग पत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी गरेको छ। ऐनअनुसार कसुर प्रमाणित भए उनले ७८ लाख रूपैयाँ जरिवाना तिर्नु पर्नेछ। सोही बराबरको उनको सम्पत्ति जफत हुनेछ।
मुद्दा अदालत लैजानुअघि अख्तियारले पाठकसँग बयान लिएको थियो। त्यसको भिडियो रेकर्ड पनि अदालतमा पेश गरिएको छ।
अख्तियारकै आयुक्त रहिसकेका पाठकविरुद्ध अनुसन्धान थाल्नुअघि आयोगले महान्यायाधिवक्ता कार्यालयको राय लिएर सहसचिव शेरजंग कार्की नेतृत्वमा कमल प्रसाद मिश्र र एसपी प्रविन पाेखरेल रहेको तीन सदस्यीय अनुसन्धान टोली बनाएर छानबिन गरेको थियो।कलेज अध्यक्ष न्यौपाने अख्तियारको बयानकै क्रममा भागेर फरार छन्।
घूस प्रकरणमा जोडिएका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र झालाई मुद्दामा सरकारी साक्षीको रूपमा पेश गरिएको छ। घूस बापतको ७८ लाख रूपैयाँ तत्कालीन आयुक्त पाठकलाई झाले बुझाएका थिए । पाठकको भिडियो खिच्ने ध्वजमान मोक्तानबारे अभियोगपत्रमा केही उल्लेख गरिएको छैन। मुद्दा दर्तासँगै अब आरोपीविरुद्ध अदालतले म्याद जारी गर्नेछ।
हेर्नुहोस् आरोपपत्र :
















प्रतिक्रिया