३१ आश्विन २०८३, शनिबार

जग्गा विवादमा झडप हुँदा १३४ जनाको मृत्यु

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माली, ११ चैत । बन्दूकधारीले मध्य मालीको मोप्ती क्षेत्रमा रहेको ओगासागुमा रहेका आदिवासी फुलानी समुदायमाथि जग्गा तथा सिँचाइबारे डोगान जातीसँग भएको विवादपछिको आक्रमणमा कम्तिमा १३४ जनाको मृत्यु भएको अनुगमनका लागि पुगेको संयुक्त राष्ट्रसंघको टोलीले जानकारी गराएको छ ।

शनिबार बिहान गाउँ घेरा हाली गरिएको आक्रमणमा यति ठूलो संख्यामा सामुहिक हत्या भएको एक स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

आक्रमणकारीले स्थानीय अगोसागा पेउल गाउँका अधिकांश घर तथा टहरामा आगजनीसमेत गरेका बताइएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मालीको एउटा ग्रामिण वस्तीलाई घेरा हाली बन्दूकधारी समूहले गरेको आक्रमणबाट महिला तथा बालबालिकासहित कम्तिमा १ सय ३४ जनाको हत्या गरिएको घटनाको घोर भत्र्सना गरेका छन् ।

अगोसागा पेउल गाँउलाई बन्दूकधारी ठूलो समूहले घेरा हाली गरेको आक्रमणमा कम्तिमा ५५ जना घाइते भएका थिए । घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेको बताइएको छ ।

गुटेर्रेसका सह–प्रवक्ता फारहन हकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासचिवले सो घटनाको भत्र्सना गर्दै घटनाको तत्काल अनुसन्धान गरी जघन्य आक्रमणमा सम्लग्नलाई कानूनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन मालीका अधिकारीलाई आग्रह गर्नुभएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘उहाँले मृतकका परिवार तथा आपन्तजन, मालीका जनता तथा सरकारप्रति समवेदना व्यक्त गर्दै घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।’

त्यस्तै, राष्ट्रसंघ प्रमुखले मालीका अधिकारीलाई मध्यमालीमा शान्ति तथा स्थायित्व ल्याउने प्रयासलाई दोब्बर गरेर अघि बढ्न आग्रह गरेका छन् ।