
काठमाडाैँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहका गतिविधि नियन्त्रण गरेरै छाड्ने भन्दै कडा आलोचना गरेका छन्।
प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिनको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले विप्लव समूहलाई सम्झाउँदा नसम्झिएकाले नै कडा कदम चाल्नुपरेको प्रष्ट पारे । उनले भने ‘राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।’
यद्यपि अहिले पनि विप्लव समूहलाई वार्तामा आउन बाटो खुला रहेको बताए । ‘हतियार बुझाउन समय दिएका छौं । लुरुलुरु बुझाउन आए हुन्छ’ उनले भने, ‘बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’
प्रधानमन्त्रीले राजसंस्थाको लागि जनमत संग्रहको माग गरिरहेका शक्तिको समेत चर्को आलोचना गरे। ‘नेपालमा प्रतिगमनको कुनै सम्भावना छैन’, उनले भने । उनले राजसंस्था राजसंस्था भनेर फट्याकफुट्युक नगर्न सुझाए। त्यो सह्य नहुने उनले चेतावनी दिए।
सरकारले विप्लव समूहलाई प्रशासनिक ढंगले मात्र समाधान गर्न नखोजेको पनि उनले बताए । श्रीकृष्ण र रामले समेत सुदर्शन चक्र र धनुवाण देखिने गरी बोकेको भन्दै उनले सम्झाउँदा नहुनेलाई हतियारमार्फत कारबाही गर्नुपर्ने बताए ।
केही हप्ताअघि सम्झौता गरिएको सिके राउत समूहको भने प्रधानमन्त्रीले प्रशंसा गरेका थिए। ‘अब देशमा विखण्डनवाद छैन’, उनले भने, ‘आफ्नै गान बनाएर हिँडेको समूहले सयौं थुंगा गाएर आफ्नो काम सुरु गर्छ। यो नेपालीले खुसी मनाउनुपर्ने अवस्था होइन ?’
उनले राउतसँगको सम्झौतामा जनअभिमतलाई प्रष्ट्याउने प्रयास गरे। ‘लोकतन्त्रमा जनताको अभिमतबाट नचले कसको अभिमतबाट चल्ने?’, उनले प्रश्न गरे। उनले खुसी हुनुपर्ने ठाउँमा केही मान्छेहरु आत्तिएको देखेर आफू अचम्ममा परेको उनले बताए।















प्रतिक्रिया