८ कार्तिक २०८३, आइतबार

शशांकसँग सशंकित

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । जनमत संग्रहबारे कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको अभिव्यक्तिले पार्टीका नेता सशंकित बनेका छन्। होलीको अवसरमा बुधबार निवासमा आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले धर्मनिरपेक्षतासँगै संघीयता र गणतन्त्रबारे जनमत संग्रह हुनुपर्ने बताएका थिए। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

नेता कृष्णप्रसाद सिटौलाले बिहीबार पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसमा आयोजित दीप प्रज्वलन कार्यक्रममा उक्त भनाइप्रति आपत्ति जनाए। गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शक्रबार गरेको कार्यक्रममा केन्द्रीय सदस्य गगन थापा, डा. शेखर कोइरालालगायतले पनि संशय प्रकट गरे।

परिवर्तन उल्ट्याउन पार्टीभित्र र बाहिर दुवै ठाउँबाट चलखेल भइरहे पनि त्यो सम्भव नहुने नेता सिटौलाको भनाइ थियो। उनले संविधानका केही प्रमुख मुद्दालाई लिएर विवादास्पद अभिव्यक्ति आउनु दुखद् भएको टिप्पणी गरे। युवा नेता थापाले पार्टीलाई भड्खालोमा पुर्‍याउने गरी पार्टीका जिम्मेवार नेताहरूले बोलिरहेको टिप्पणी गरे। ‘पार्टीको आन्तरिक मञ्चमा कुनै कुराको ठोस विमर्श नगरी सार्वजनिक रूपमा विवादास्पद अभिव्यक्ति दिनुहँुदैन’, उनले भने, ‘पार्टीभित्र हामी एक चोटि गम्भीर भएर सबै विषयमा छलफल गरौं।’

अर्का नेता कोइरालाले संघीयता र गणतन्त्र समाप्त पार्ने खेल सुरु भएको बताए। सहिदको रगतसँग साटिएर आएको परिवर्तन उल्ट्याउने कामको विपक्षमा सबै एक हुनुपर्ने उनको भनाइ थियो। परिर्वतन उल्ट्याए मुलुक थप द्वन्द्वमा जाने उनले बताए। सरकार र राष्ट्रपतिको गतिविधिप्रति पनि औंलो ठड्याउँदै उनले मुलुक प्रतिगमनतर्फ धकेलिएको बताए। ‘तर, संघीयताबाट मुलुक पछाडि फर्किन सक्दैन’, उनले भने। परिर्वतन संरक्षण गर्ने जिम्मा कांग्रेसको रहेको उनको भनाइ थियो।

आफ्नो अभिव्यक्तिलाई लिएर आलोचना भएपछि शशांकले बिहीबार चितवनमा बोली फेरेका थिए। संघीयता र गणतन्त्रका बारेमा जनमत संग्रह गर्नुपर्ने कुरा नभनेको प्रष्टीकरण दिएका थिए। उनीसहित एक समूहले कांग्रेसबाट धर्मनिपरेक्षताको विरोध गर्दै अएको छ। उनले सार्वजनिक रूपमै धर्मनिरपेक्षताको विरोध गर्दै यसमा जनमत संग्रह हुनुपर्ने बताउँदै आएका थिए। बुधबार भने संघीयता र गणतन्त्रबारे पनि उनले टिप्पणी गरेका थिए।

मंसिर अन्तिमदेखि पुस पहिलो सातासम्म काठमाडौंमा भएको महासमिति बैठक आसपास धर्मनिरपेक्षताको विरोधमा हस्ताक्षर संकलन गरिएको थियो। शशांकले हस्ताक्षर नगरे पनि उनीनिकट नेता अघि सरेका थिए। महासमिति बैठकस्थलमा पत्रकारसँग उनले पार्टीले धर्मनिरपेक्षताका बारेमा सोच्नुपर्ने बताएका थिए।

बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘धर्मनिरपेक्षता’ राखिएकोमा विरोध भएको थियो। पछि धार्मिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षताका रूपमा सच्याएर केन्द्रीय कार्यसमितिले प्रस्ताव पारित गरेको छ।