
काठमाडौं, ७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको स्पष्ट पारेका छन् ।
उनले भने, ‘मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ, त्यसैले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य छ । तर, यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो भएको छैन ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको सुनाए । उनले भने, ‘गिरिजाबाबुले विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गर्नुभयो, उहाँले उदार आर्थिक नीति ल्याउनुभयो । बास्तवमा गिरिजाबाबुले आधुनिक नेपालका लागि ठूलो काम गर्नुभएको छ ।’
साक्षात्कारमा बोल्दै उनले वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेकोमा खुशी व्यक्त गरे । उनले थपे, ‘यो त खुशीको कुरा हो, सम्मेलन सफल होस् भन्ने हाम्रो शुभकामना छ, यो अति आवश्यक थियो । विदेशी लगानी नबढाई मुलुक विकास हुन सक्दैन् ।’
विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने उनको सुझाव थियो । उनले भने, ‘अहिले केही नयाँ कानुनहरु पारित भएका छन्, तर विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाइएको भनिएको छ ।’
महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको सुनाए । उनले विदेशी लगानी भित्र्याउनको लागि पहिले नेपालका सडकहरु, विमानस्थललगायत पूर्वाधारको विकास र स्तरोन्नती गर्नुपर्ने पनि सुझाए ।
फरक प्रसँगमा उनले आफू गुट तथा उपगुटको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, ‘पार्टीका आन्तरिक कुराहरु बाहिर धेरै गर्न जरुरी छैन, म गुटको पक्षमा छैन ।’
हालै बसेको केन्द्रिय समितिको बैठकले अनुशासनलगायत विभिन्न समितिका संयोजक तथा सदस्यहरु चयन गरेकोप्रति टिप्पणी गर्दै उनले भने, ‘जिम्मेवारी दिँदा गुण र दोषको आधारमा दिने हो, उसको पृष्ठभूमि हेरेर दिने हो, अहिले जे निर्णय भएको छ, त्यो बेष्ट होईन, तेरो र मेरो भनेर निर्णय गरिएको छ, यो मात्रै पर्याप्त छैन । तर, लामो समयपछि निर्णय भएको छ, यो सकारात्मक छ ।’
उनले गुटभन्दा माथि उठेर पार्टीलाई चलाउनुपर्ने धारणा राखे । उनले भने, ‘सरकारले यति धेरै गल्तीहरु गरिरहेको छ, यसमा प्रतिपक्षीको भूमिका प्रभावकारी हुनुपर्दथ्यो । तर, हुन सकेको छ्रैन । यो दुःखदायी कुरा हो ।’












प्रतिक्रिया