सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

नक्कली सुन देखाई ठगी गर्ने छ व्यक्ति पक्राउ

दैनिक नेपाल २०७५ चैत ६ गते २०:३०

काठमाडौँ, ४ चैत । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सुन देखाई ठगी गर्ने छ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले नक्कली सुनलाई सक्कली भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने नुवाकोटका ३८ वर्षीय मसा तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ, २६ वर्षीय राउसिंह तामाङ, २८ वर्षीय मङ्गले तामाङ, गोरखाका ३९ वर्षीय कुशल अधिकारी र ३२ वर्षीय गोविन्द पोखरेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुदीप गिरीले विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिलाई दिने भनी ठगी गर्नेलाई दुई थान नक्कली सुन र एक हजारका दरले पाँच थान नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले सङ्गठित गिरोह खडा गरी ठगी गर्ने र एउटा समूहलाई ठगी गरेपछि प्रयोग भएको सिमकार्ड र मोबाइल बन्द गर्ने गरेको तथा ठगी गरेको रकम भूमिकाका आधारमा भागबण्डा गरी लिने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता गिरीले बताउनुभयो ।

पक्राउ परेकालाई ठगी एवं खोटाचलन कसुरमा काठमाडौँ जिल्ला अदालतमा म्याद थप लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । – रासस

प्रतिक्रिया
सम्बन्धित