
काठमाडौं, ६ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्डको बैंककमा हुने थर्ड मिटिङ् अफ द बिमिस्टेक नेश्नल सेक्युरिटी चिफ्स विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रहरी महानिरीक्षक खनालसँगै कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि शाखा अधिकृत सोमेश थापा समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक लगायत बरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा विदाई गरे ।
चैत ७ गते संचालन हुने कार्यक्रममा बिमिस्टेक सदस्य राष्ट्रका सुरक्षा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने कार्यक्रम रहेको छ ।
कार्यक्रममा आतंकवाद, हातहतियार, लागूऔषध, मानव बेचबिखन लगायतका संगठित अपराध तथा विपद व्यवस्थापन र सुरक्षा क्षेत्रका विविध विषयमा सदस्य राष्ट्रहरुकाबीच सहयोग आदान प्रदान, क्षमता अभिवृद्धि, असल अभ्यास तथा अनुभव समेतको आदान प्रदान लगायतका विषयमा छलफल हुनेछ ।
प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले प्रहरी प्रधान कार्यालयको दैनिक काम कारवाही सम्हाल्नेछन् ।












प्रतिक्रिया