बिहीबार, ९ जेठ २०७६
DainikNepal.com
बिहीबार, ९ जेठ २०७६

कारागारमा बढी किताब अध्ययन गर्नेलाई पुरस्कृत गर्छौँ : डीआइजी शाह

दैनिक नेपाल २०७५ चैत ३ गते १८:००

-मिना बुढाथोकी

सल्यान, ३ चैत । कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआइजी महेश बिक्रम शाहले कारागारमा सबैभन्दा बढी किताब अध्ययन गर्ने व्यक्तिलाई पुरस्कृत गरिने बताएका छन् ।

उनले कारागारमा रहेका कैदीबन्दीहरुको बुक क्लब बनाएर पत्येक महिना जसले सबै भन्दा बढी किताब अध्ययन गर्छ, त्यसलाई पुरस्कृत गरिने बताए । सल्यानको शान्ति सुरक्षा बुझ्न पुगेका डीआइजी शाहले कारागारलाई किताब अभियान उपसमितिसंगको भेटको यो जानकारी गराएका हुन् ।

कर्णाली प्रदेशका जिल्लामा रहेका कारगारहरुमा कैदीबन्दीहरुलाई विभिन्न समस्या भएको बताउँदै उनले कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको समेत जानकारी गराए ।

कारागारका कैदी बन्दीलाई आवश्यक पर्ने सामाग्रीहरु समेत पर्याप्त मात्रामा पुग्न नसके पनि एक नागरिकका लागि अति नै आवश्यक पर्ने ज्ञान र मनोरन्जनको समेत किताबले दिन सक्ने भएकाले कारागारलाई किताब अभियानको आवश्यकता रहेको उनको भनाइ थियो ।

कर्णालीका सबै जिल्लामध्ये सबै भन्दा बढी सहयोग जुटाउने जिल्ला सल्यान भएको जानकारी दिदै डीआइजी शाहले सल्यानमा सबैभन्दा बढी किताब खरिद भईसकेकोमा प्रशंसा समेत व्यक्त गरे । उनले कर्णाली प्रदेशको कारागारलाई किताब अभियानको बारेमा जानकारी पाएपछि अन्य प्रदेशबाट पनि कारागारमा पुस्तकालयको माग आएको बताए ।

यस अभियानमा देश तथा विदेशबाट पनि सहयोगको प्रस्ताव आएको जानकारी दिंदै उनले कारागारमा पुस्तकालय मात्रै राख्नु ठूलो कुरा नभएको भन्दै कैदीबन्दीलाई किताब पढ्ने बानी बसाल्नु पर्नेमा जोड दिएका छन् ।

आफू जुम्ला कारागारको अनुगमनमा गएको समयमा त्यहाँका कैदीबन्दीले किताब मागेपछि कारागारमा पुस्तकालयको महत्व र आवश्यकताका विषयमा सोच आएको र अभियान नै संचालन गरेको उनको भनाइ छ ।

अभियानबाट कारागार भित्रका कैदी तथा थुनुवाहरुलाई सामान्य अपराधीबाट पेशेवर खुंखार अपराधी बन्नबाट बचाउन सक्ने, कारागारमा बसेको अवधिसम्म ज्ञानमा अभिवृद्दि गर्ने सकारात्मक सोच र दृष्टिकोणको समेत विकास हुने अपेक्षा गरिएको उनले बताए ।

‘हामीले पहिलो चोटी अपराध गरेर जेलमा आएका कैदीहरुलाई सुधार्न सक्यौं, उनीहरुभित्र सकारात्मक धारणा र भावनाको विकास गर्न सक्यौं भने त्यो मानिस कारागार जीवन पश्चात समाजमा गएर फेरि अपराध गर्दैैन’, उनले भने, ‘जसले गर्दा समाजको शान्ति सुरक्षामा पनि सकारात्मक प्रभाव पर्छ ।’

प्रतिक्रिया
सम्बन्धित