५ कार्तिक २०८३, बिहिबार

पूर्वराजा ज्ञानेन्द्र शाह : सेल्फी सेलिब्रिटीदेखि बिन्तिपत्र ग्राहणसम्म

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह अहिले मधेस भ्रमणमा छन् । उनी आइतबार सप्तरीको छिन्नमस्ता मन्दिर दर्शनका लागि पुग्नेछन् । त्यसअघि उनी शनिबार उदयपुरको गाइघाट, जनकपुर र सर्लाहीमा धार्मिकस्थलको भ्रमण सकी सर्वसाधारणसँग भेट गरे ।

पूर्वराजाले मधेस भनिएको स्थललाई ‘तराई’ भनी सम्बोधन गरेका छन् । उनले मधेस मानेका छैनन् । सो क्रममा उनका भ्रमणमा देखिएका केही रोचक पक्ष यस्ता पनि छन् ।

उनको भ्रमण कुनै सभा वा सम्मेलनमा भाषण गर्ने नभई मन्दिर र धार्मिक स्थलको दर्शनसँग जोडिन्छ । मान्छेको उभार त्यहाँ लाग्ने गर्छ । जनताले उनलाई हेर्ने उत्कट चाहनामा आफूलाई घन्टौं उभ्याउँछन् । यसकारण आजको सामाजिक सञ्जालको दुनियाँमा उनीसँग देखिएका तस्बिर पोस्टयाउन चहान्छन् । यो मौकालाई सकेसम्म पूर्वराजा शाहले नदिने गरेका छैनन् । त्यसैले उनका भ्रमणका क्रममा उनीसँग खिचाएका तस्बिर पनि सर्वसाधारणले देखाउने गरेका छन् ।

जनकपुरदेखि सर्लाहीसम्म सर्वसाधारणले उनीसँग तस्बिर खिचाउने र आफ्ना गुनासा सुनाउने काम गरे । राज्यको कुनै निकायमा उनको उपस्थिति नभए पनि आम साधारणले विकासदेखि मुलुकको राजनीतिक अवस्था सुधारका लागि उनीसँग माग गरेका छन् ।

‘राजा र राजसंस्थाप्रति तराईका जनताको विश्वास र भरोसा थामिनसक्नु रहेको पाइयो । धार्मिक सापेक्षता, राजसंस्था कायम नगरी मुलुकमा विकास नहुने गुनासो गरेको सुनियो’, भ्रमणको व्यवस्थापकीय काममा सक्रिय शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने,‘पहाडको भ्रमण सकेर मधेस झर्नुभएका राजाका लागि जनताको उभारले आस्था नखुम्चिएको प्रस्ट हुन्छ ।’

शनिबार उदयपुर पुगेका पूर्वराजा ज्ञानेन्द्रसँग सर्वसाधारण, व्यापारी र पूर्व स्थानीय निकायका प्रमूख उपप्रमूखलगायतले भने बिन्तिपत्र नै चढाएका थिए । मानौ, नारायणहिटी दरबारमा राखिएको गुनासाको सम्बोधन पहिलाकै हिसाबमा पूर्वराजाबाट हुनेछ ।

‘सरकारबाट यी गुनासा सम्बोधन हुनेछन् भन्ने विश्वासमा आम नागरिकले यसरी बिन्तिपत्र लेखेर पठाउनुभएको हो, सरकारले यस्ता गुनासाका बारेमा चिन्ता लिनुभएको छ, जनमत र विचारलाई मनन गर्नुभएको छ’, बस्नेतले जोडे,‘अब मुलुकमा राजसंस्थाको विकल्प नभएको भन्ने पक्कापक्की भइसकेको छ । राजनीतिक दलले मुलुक र जनताको हितमा काम नगरेको प्रष्ट भइसकेको छ ।’

पूर्वराजा ज्ञानेन्द्र सप्तरी भ्रमणपछि पर्सा जाने कार्यक्रम रहेको छ । यसपछि उनी परिवारका अन्य सदस्यसहित पश्चिम भारतको भ्रमणमा निस्कनेछन् । झापा हुँदै उनी पश्चिम बंगाल, सिक्किम, मुम्बई र नयाँ दिल्लीसम्म पुग्ने उच्च स्रोतको दाबी छ ।