लण्डन, ३ चैत । न्युजिल्याण्डको क्राइस्टचर्चमा ५० जनाको ज्यान जाने गरि भएको आक्रमणमा एकजनाको मात्रै संलग्नता रहेको स्थानीय प्रहरीले जनाएको छ ।
क्राइस्टचर्चका दुई मस्जिदमा भएको अन्धाधुन्ध गोली प्रहारका कारण अहिलेसम्म ५० जनाको ज्यान गएको पुष्टि भएको छ भने अरु ५० जना घाइते भएका छन् ।
घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घटनामा संलग्न भएका २८ वर्षे अस्ट्रेलियन नागरिक ब्रेन्टन ट्यारेन्टलाई शनिबार अदालत पेश गरिएको थियो ।
ट्यारेन्ट एक्लैले दुई मस्जिदमा आक्रमण गरेको अहिलेसम्मको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ । आफूलाई ह्वाइट सुप्रिमिस्ट बताएका ट्यारेन्टले आक्रमणलाई फेसबुकमा लाइभ गरेका थिए ।
घटनापछि पक्राउ परेका अरु तीनजनाको संलग्नता नदेखिएको प्रहरी अधिकारी माइक बुसले बताएको बिबिसीले उल्लेख गरेको छ । तर अहिले नै अनुसन्धानको निष्कर्ष भने निस्किएको छैन ।















प्रतिक्रिया